Events

युरिक एसिडमा खुट्टाको पीडा युरिक एसिडका बिरामीले माछा, मासु, गेडागुडी र रक्सीबाट टाढै रहनुपर्छ ।

08/12/2011

प्रा. डा. अर्जुनदेव भट्ट

 मस्त सुतेका बेला मध्यरातमा एक्कासि एउटा बुढीऔँलाको फेदमा ओढेको लुगाले समेत छुन नहुने गरेर दुखेको पीडा सायद केही पुरुषले अनुभव गरेको हुन सक्छ । जोर्नी सुन्निने, तातो हुने र बाहिरको छाला हलुका रातो हुने गर्छ । यस्तो प्रायः युरिक एसिड बढेर हुन्छ । बियर पिउनेहरू धेरैले युरिक एसिडको पीडा ३० वर्षपछि नै अनुभव गरिसकेका हुन्छन् किनभने बियरले युरिक एसिड बढी उत्पादन गराउनुका साथै मृगौला भएर शरीरबाट निस्कने युरिक एसिडको मात्रा घटाउँछ । युरिक एसिड जोर्नी तथा शरीरका विभिन्न भागमा थिगि्रएका खण्डमा ती ठाउँ दुख्ने वा मृगौलामा पत्थरीसमेत हुने गर्छ । युरिक एसिड भएका बिरामीमध्ये ९० प्रतिशत पुरुष र १० प्रतिशत महिला हुन्छन् । तीमध्ये पनि प्रायः रजस्वला सुकेपछि मात्र यो रोगबाट पीडित हुने गर्छन् । जीर्ण अवस्थामा युरिक एसिडका मणिहरू छालामुनिको बोसो, जोर्नी, हाड, कुरकुरे हाड, मृगौला तथा विभिन्न तन्तुमा थुपि्रने गर्छ र सबै ठाउँमा दुख्छ । रगतमा हुने श्वेत कोषको सहभागितामा युरिक एसिडका मणिहरू थुपि्रएका ठाउँमा सुन्निने र पीडा हुने गर्छ ।

शरीरमा उत्पादन हुने युरिक एसिड र मृगौला भएर विसर्जन हुने युरिक एसिडको मात्रामा सन्तुलन नभएपछि शरीरका विभिन्न भागमा त्यसको कुप्रभाव पर्छ । यो रोग लागेपछि खुट्टाको बुढीऔँलाको जोर्नी सुन्निएर दुख्छ । यो दुखाइ यति पीडादायी हुन्छ कि बिरामीले जुत्ता लगाएर हिँड्दा मात्र होइन ओढ्नेले छुँदा र खुट्टा खुम्च्याउँदासमेत असहज हुन्छ । यो अवस्थामा ज्वरो पनि आउन सक्छ । यसले पिँडौला पनि दुख्छ । युरिक एसिडको लवण कानको छालामा, कुमतिर, घुँडाको अगाडि, हात र खुट्टातिर पनि एकत्रित भएर खस्रो र फुस्रो रूपमा देखा पर्न सक्छ । यस्ता बिरामीको रगत जाँच गर्दा युरिक एसिडको स्तर बढेको पाइन्छ । यूएसजी र हड्डीको एक्सरेबाट सुरुको अवस्थामा खासै रोगको पहिचान गर्न केही पनि जानकारी प्राप्त नभए पनि लामो समय यो रोग भएकाहरूको हड्डीमा क्षय भएको देख्न सकिन्छ । समय लाग्ने जाँच भए पनि २४ घन्टाको पिसाब थुपारेर र त्यसमा कति युरिक एसिड मृगौलाले निकाल्यो र त्यो दिन रगतमा युरिक एसिडको स्तर कति थियो त्यो तुलना गरेर हेर्दा के कारणले बिरामीको रगतमा युरिक एसिडको मात्रा उच्च हुने गरेको छ र त्यसका निम्ति कुन प्रकारको उपचार सबैभन्दा बढी उपयुक्त होला भनी छुट्याउन वैज्ञानिक आधार मिल्छ । यस्तो जाँच गर्न चौबीस घन्टाको पिसाब थुपार्दा सामान्य अवस्थामा जस्तै बिरामीले तरल पदार्थ सेवन गर्न र एकपल्ट पनि नबिराएर सबै पिसाब प्रयोगाशालाबाट उपलब्ध गराइएको भाँडामा संकलन गर्नुपर्छ ।

सबै जोर्नीको दुखाइ युरिक एसिडसम्बन्धी नहुन पनि सक्छ । त्यसैले चिकित्सकको जाँच र सल्लाहबिना बिरामीले औषधि सेवन गर्नु पनि हुँदैन ।

उच्च रक्तचाप वा मधुमेह भनेजस्तै युरिक एसिडबाट उत्पन्न स्थिति पनि बिरामीले लामो समय सामना गर्नैपर्ने यथार्थ हो तर पनि युरिक एसिडको स्तर केही उच्च छ वा त्यस्तै त्यो रोगका लक्षणबाट शरीरमा केही सानोतिनो फरक देखिएको छ भन्दैमा औषधि सेवन गर्नैपर्छ भन्ने छैन । बिरामीले खानपानमा संयम अपनाउँदा पनि हुन्छ तर बिरामीले जथाभावी खाने, पथपरहेजमा नबस्ने गरेमा रोग झन् बढ्न सक्छ । रक्सीपान, बढी प्रोटिनयुक्त खाना -माछा, मासु, गेडागुडी) पानीको मात्रा कम, शरीरको तौल उचाइको अनुपातमा धेरै, व्यायाम कम भएमा युरिक एसिड ज्यादै उच्च हुन्छ । यस्तो अवस्थामा औषधोपचारका निम्ति चिकित्सकसँग परामर्श गर्नुपर्ने हुन्छ । पीडा कम गर्ने औषधि एक दुई मात्रा सेवन गर्दा दुखाइ निकै कम हुने वा पूरै हराउने भए पनि यस्था औषधि खानुपर्ने अवस्था भरसक नआओस् भन्ने प्रत्येक बिरामीले हरसम्भव आफूलाई संयम राख्नु उत्तम हुन्छ किनकि यी औषधिहरू निकै फलदायी भए पनि मृगौला तथा पेट र आन्द्राका निम्ति अति हानिकारक हुन सक्छन् ।

युरिक एसिडका बिरामीले माछा, मासु र गेडागुडी कम खाने, रक्सीबाट टाढै राख्ने, चौबीस घन्टामा पिसाबको मात्रा तीन लिटर हुने गरेर पानी पिउने, शरीरको तौल उचाइअनुरूप राख्ने र व्यायामलाई जीवनको अभिन्न अंग बनाउन सक्नुपर्छ ।

लेखक कन्सल्टेन्ट युरोलोजिस्ट हुन्