Events

जाडोमा स्वास्थ्य

06/01/2012

डा. बालकृष्ण साह

कान्तालाललाई एक्कासि शरीर चिसो भएर अनि बारम्बार पातलो दिसा गएर अस्पताल आयो । घरमा २-३ वटा सिरक ओढेर अनि हिटर बालेर पनि शरीर नतातिएपछि कान्तालाल अस्पताल आएको हो । उनलाई कोल्ड डायरिया (पर्खला) चलेको रहेछ । अहिले फेरि चिसो बढ्दै गएको छ र घाम हराउँदै गएको छ, अनि शीतलहरले ढाक्दै गएको छ । यस्तो मौसममा रुघा लाग्ने, श्वास-प्रश्वासको समस्या आउने, पखाला -कोल्ड डायरिया) जस्ता समस्याले सताउने स्वाभाविक नै हो ।

चिसो मौसमको सबभन्दा प्रमुख स्वास्थ्य समस्या नै रुघा भन्दा फरक नपर्ला । चिसो सँगसँगै प्रदूषणले गर्दा पनि बढी रुघा लाग्नमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । वयस्कहरूभन्दा दस गुण बढी रुघा बालबालिकाहरूमा लाग्ने गर्छ । सामान्यतः रुघा गर्मीको सुरुवात वर्षयाम तथा जाडोयामको सुरुवातमा हुने गर्छन् । वायुको 'ह्युमिडिटी'मा मौसमको परिवर्तनसँगै आउने उथलपुथलले रुघा लाग्ने गर्छ । रुघा विभिन्न किसिमका भाइरसहरूले लगाउने गर्छ र करिब २०० जातका भाइरसहरूले रुघा लगाउने गरेेको पत्ता लागिसकेको छ । यी भाइरसहरूमध्ये राइनोभाइरस प्रमुख हो, जसले करिब ३० देखि ३५ प्रतिशत रुघाको बिरामीको कारक हुने गर्छन् । अन्य भाइरसहरूमा पाराइन्फुलन्जा भाइरस, रेस्पिरेटरी सेन्साइटल भाइरसहरू पर्छन् । तर गर्मीयाममा लाग्ने रुघाको  अर्को एक कारण  कोरोनाभाइरस पनि हो ।

नाकबाट श्वास फेर्न गाह्रो हुने, नाकबाट पातलो सिँगान -पानीजस्तै) बग्ने, नाक बन्द हुने, टाउको दुख्ने तथा भारी हुने, ज्वरो आउने, हाच्छ्युँ आउने आदि लक्षण रुघाको हो । यस बाहेक कसै-कसैलाई सुख्खा खोेकी लाग्ने, घाँटी दुख्ने पनि हुनसक्छ । कसै-कसैलाई १०२ डिग्री फरेनहाइटसम्म ज्वरो आउन सक्छ । तर सामान्यतया रुघा लागेको कारणले नै बिरामी सिकिस्त हुने गरेको पाइँदैन । रुघा लागेको बेला आराम धेरै गर्ने, तातो झोलपदार्थ, सुप सेवन गर्ने, नुनपानीले मुख कुल्ला गर्ने आदि गर्नाले धेरै राहत हुन्छ । नाक बन्द भएको बेला वा पातलो सिँगान बगेको अवस्थामा तथा घाँटी ख्याप्प बसेको अवस्थामा वाफ लिनु पनि राम्रो हो । सादा पानीको वाफले मात्रै पनि धेरै आराम दिनसक्छ । आजभोलि भिक्स वा सन्चो हालेर पनि वाफ लिने गरिन्छ । तर बालबालिकाहरूलाई वाफ दिँदा विशेष ध्यान पुर्‍याउनुपर्छ । बालबालिकाहरूलाई सुतेको अवस्थामा सादा पानीको वाफ दिनु नै राम्रो हो । रुघा लागेको बेला सिटामोल लिन सकिन्छ । सिटामोलले टाउकोमा दुखाइ कम गर्ने तथा ज्वरो पनि निको गर्ने भएकोले फाइदा जनक हुन्छ, तर यसले रुघाको अवधिमा कुनै असर पार्दैन । त्यस्तै एन्टी हिस्टामिन समूहमा औषधीहरू जस्तै- सिटि्रजिन, प्रोमेथाजिन, फेक्सोफेनाडिनजस्ता औषधीहरूले संकुचन भएका श्वासनलीलाई फुलाउने हुँदा धेरै आराम पुग्छ । यसले नाक बन्द हुनबाट पनि जोगाउँछ । तर यसले पनि रुघाको अवधिलाई छोट्याउन मद्दत गर्दैन ।

धेरै मानिसहरूले रुघा लागेको बेला एन्टिबायोक्सिहरू खाने गर्छन् । रुघा भाइरसहरूले गर्दा लाग्ने रोग हो र एन्टिबायोटिक्सको प्रभाव ब्याक्टेरियामा मात्र हुन्छ, भाइरसमा हुँदैन । त्यसैले रुघामा एन्टिबायोटिक खानु र नखानु बराबर नै हो । तर रुघा सँगसँगै साइनोसाइटिस -पिनास) वा अन्य श्वासनलीमा ब्याक्टेरियल संक्रमण पनि हुनसक्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाह बमोजिम आवश्यक एन्टिबायोटिक्सहरू प्रयोग गर्नुपर्ने हुनसक्छ । मह, अदुवा, मरिच आदिले घाँटीका नसाहरूको संकुचनलाई कम गराउने भएकोले यसलाई रुघा लागेको बेला प्रयोग गर्नु राम्रो हो । 

रुघासँगै जाडोमा बालबालिकाहरूलाई श्वास-प्रश्वास तथा छाती (फोक्सो) का ब्याक्टेरियल संक्रमण अर्थात् निमोनिया पनि लाग्न सक्छ । वृद्ध तथा पुरानो दमका रोगीहरूलाई चिसोमा अझ बढी सताउने हुनसक्छ । अत्यधिक चिसो तथा शीतलहरका कारण कठ्याङ्गि्रएर मानिसहरूको मृत्यु पनि हुनसक्छ । त्यसैले यस्तो मौसममा आफूलाई न्यानो राख्नुपर्ने हुन्छ ।