Main news

सांसद्हरुद्वारा सदन र सरकारको ध्यानाकर्षण

06/02/2017

सांसदहरुले समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएका छन् । आज बसेको व्यवस्थापिका– संसद्को बैठकको शून्य समयमा सांसद दुलारी हरिजनले पूर्व–पश्चिम राजमार्गको नवलपरासी खण्डमा रहेका पुल जीर्ण भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । मुलुकभरका अस्पतालका चिकित्सक र अन्य कर्मचारीको बोली व्यवहार मीठो हुनुपर्ने धारणा पनि उहाँले राख्नुभयो । सांसद धनबहादुर रायमाझीले भूकम्पपीडित जनतालाई प्रतिबद्धता गरेअनुसारको राहत हालसम्म उपलब्ध गराउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद नरबहादुर थापामगरले गत साउनमा बागलुङमा बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको जानकारी सरकारलाई भए पनि हालसम्म प्रभावकारी रुपमा राहतका कुनै काम नभएको गुनासो गर्नुभयो । सांसद पाँचकर्ण राईले खोटाङमा स्थानीय तह पुनःसंरचना सम्बन्धमा सर्वसम्मतिले पठाएको निर्णयलाई आयोगले गाउँपालिकालाई छिन्नभिन्न हुने गरी प्रतिवेदन गरेकोमा आपत्ति जनाउँदै यसप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद प्रतिक्षा तिवारीले भूकम्प गएको लामो समय बितेपनि विशेष रुपमा महिला वर्ग अझै असुरक्षित भएर बस्न बाध्य हुनुपरेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।