Main news

काठमाडौँमा पाँच दलित महिला सदस्य निर्विरोध

10/05/2017

काठमाडौँको तीन नगरपालिकाबाट पाँच दलित महिला सदस्य पदमा निर्विरोध निर्वाचित भएका  छन् । टोखा, दक्षिणकाली र कीर्तिपुर नगरपालिकाबाट पाँच दलित महिला निर्विरोध निर्वाचित भएका हुन् । टोखाको वडा नंं २ र ६ बाट क्रमशः प्रतिमा हिडमाङ र दिलमाया विक निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत दिनबन्धु बरालले जानकारी दिनुभयो । दुवै जना नेपाली काँग्रेसका उम्मेदवार हुनुहुन्छ ।  यस्तै, दक्षिणकालीबाट पनि दुई दलित महिला सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन अधिकृत प्रतिमा पोखरेलका अनुसार वडा नं ३ र ९ मा क्रमशः कृष्णकाली दर्नाल र मीना परियार निर्विरोध निर्वाचित हुनुभएको छ । दुवै जना नेपाली काँग्रेसबाट उम्मेदवार बन्नुभएको हो । यस्तै, कीर्तिपुरका निर्वाचन अधिकृत गजेन्द्रबहादुर सिंहका अनुसार वडा नं ८ बाट दलित महिला सदस्यमा सरस्वती परियार निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँ नेकपा एमालेबाट उम्मेदवार बन्नुभएको हो ।