Main news

अवैध घरेलु कामदारमध्ये ६० प्रतिशत नेपालकै विमानस्थलबाट

09/08/2017

खाडीमुलुकमा अवैध ढंगले पु¥याइका घरेलु कामदारमध्ये ६० प्रतिशत नेपालकै विमानस्थल र बाँकी भारत, श्रीलंका, चीन र अन्य अफ्रिकी मुलुक हुँदै खाडी मुलुक पुग्ने गरेको पाइएको छ । व्यवस्थापिका–संसद्, अन्तरराष्ट्रिय सम्बन्ध तथा श्रम समितिद्वारा गठित उपसमितिले खाडीमुलुकको स्थलगत अनुगमन निरीक्षणपछि तयार पारेको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको छ । साउदी अरब, कतार, कुवेत र संयुक्त अरब इमिरेट्समा नेपालबाट संगठित रुपमा मानव तस्करी तथा बेचबिखन भइरहेको ठहरसमेत प्रतिवेदनले गरेको छ । समितिका तत्कालीन सभापति प्रभु साहको नेतृत्वमा २०७३ चैत ५ गतेदेखि १४ गतेसम्म उपसमतिले ती देशमा कार्यरत नेपाली कामदारले भोग्नुपरेका समस्याका बारेमा स्थलगत अध्ययन तथा अनुगमन गरेकोे थियो । टोलीका सदस्य विनोद श्रेष्ठले आज समितिसमक्ष अध्ययन अनुगमन प्रतिवेदन प्रस्तुत गर्दै अन्य देशका कामदारभन्दा नेपाली कामदार इमान्दार, मेहनती, अनुशासित हुने भएकाले साउदी अरबमा नेपाली घरेलु कामदारको ठूलो माग भएको बताउनुभयो ।