एमाले फुटाउनकै लागि सरकारले अध्यादेश ल्याएको एमालेका अध्यक्ष ओलीको भनाइ
काठमाण्डौ-२०७८ भदौ ९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाउनकै लागि सरकारले अध्यादेश ल्याएको बताउनुभएको छ ।स्थायी कमिटीको बैठकको भोलिपल्ट आज विशेष पत्रकार सम्मेलनमा उहाँले संविधानको मर्म र राष्ट्रिय आवश्यकता नभइ एमाले विभाजनको उद्देश्य राखेर अध्यादेश ल्याइएको बताउनुभयो ।
सरकारले राजनीतिक पार्टीभित्र बदनियतका साथ प्रतिपक्षी पार्टी फुटाउने काम गरेको छ । यो अनैतिक कार्य हो’, ओलीले भन्नुभयो । अध्यादेशप्रति ओलीले व्यंग्य पनि गर्नुभयो । संसदले काम नगरेको भन्दै उहाँले आलोचना पनि गर्नुभयो । पुस ५ मा आफ्नो नेतृत्वको सरकार संसद विघटन गर्दा संसदलाई काम गर्न दिएन भनेर आरोप लगाउनेले संसदबाट के गरे भनेर उहाँले प्रश्न गर्नुभयो ।
उहाँले जनादेशबाट नभइ परमादेशबाट सरकार बनाउने , शक्ति सन्तुलनको सिद्धान्त खल्बल्याउने र नागरिकले मूल्यांकन गर्न नपाउने अवस्था बन्दै गएको आरोप पनि लगाउनुभयो । पत्रकार सम्मेलनमा ओलीले माधवकुमार नेपाल समूहले नेताहरुलाई बलजफ्ती रिसोर्टमा लगेर राखेको भन्दै यसलाई ‘अपहरणकारी ज्यादतीपूर्ण’ कामको संज्ञा दिनुभयो । ‘बैठक कि सांसदको हुन्छ, कि स्थायी कमिटीको हुन्छ । सधारण सदस्यदेखि आफूलाई अध्यक्ष भनेको मान्छे समेत भएको कस्तो बैठक हो ?’ भन्ने प्रश्न गर्दै उहाँले नेताहरुलाई घेराबन्दी गरेर घर–घरबाट लगेर राखेको दाबी पनि गर्नुभयो । यस्तै ओलीले अनुकूल समयमा पार्टीमा जिम्मेवारी हस्तान्तरण गर्ने पनि बताउनुभएको छ ।
तपाईको प्रतिक्रिया