00:00:00
राष्ट्रिय

गायिका विष्णु माझीलाई 'प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

आइतबार असोज ३, २०७८/ Sunday 09-19-21

काठमाण्डाै २०७८ असोज ३ 

            अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ ।

सरकारले संविधान दिवसका अवसरमा गायिका विष्णु माझीलाई पनि प्रसिद्ध प्रबल जनसेवाश्री पदक प्रदान गर्ने निर्णय गरेको हो । चर्चित गायिका माझी सार्वजनिक नभएकाले पनि उहाँको बारेमा धेरैले चासो र चिन्ता राखेका छन् । तीजमा उहाँले गाएको ‘तीजको दरै खान मन थियो, माइती घरै जान मन थियो, जेलैमा हो जेलैमा चरी जेलैमा, मै छोरी रुँदैरुँदै बेसी मेलैमा’ बोलको गीत उहाँकै जीवनमा आधारित रहेको भन्दै उहाँको खोजी समेत गरिएको छ ।

 सुन्दरमणि अधिकारीले लेख्नु भएको विवाहित चेलीको वेदना समेटिएको गीतमा तीजमा माइत जाने, आमाले पकाएको दर खाने चेलीको रहर, घरका दुःख, श्रीमानबाट पाउने यातना प्रस्तुत गरिएको छ । यो गीत माझीकै श्रीमानले नै लेखेको भए पनि धेरैले यो गीत माझीकै जीवनमा आधारित रहेको अनुमान लगाएका छन्।

माझीलाई आफ्नै श्रीमानले बन्धकमा राखेको भन्ने हल्लासमेत चलेको छ तर यसको कुनै पुष्टि भएको छैन । माझी सार्वजनिक नहुनुको कारण रहस्यमा नै छ । साङ्गीतिक क्षेत्रमा सफल हुन थालेसँगै गायिका माझी सार्वजनिक जीवनमा हुनुहुन्न् ।गीत रेकर्डिङ गर्दासमेत अनुहार छोपेर स्टुडियो जाने कुरा बाहिरिने गरेको छ । काठमाण्डौमै भए पनि गायिका विष्णु माझी इन्टरनेट र सामाजिक सञ्जालमा कतै भेटिनुहुन्न् । रहस्यपूर्ण र गुमनाम जीवन बाँचिरहेकी माझी गीत गाउन स्टुडियो धाउनेबाहेक अन्य कुनै सार्वजनिक कार्यक्रममा जानुहुन्न् ।

माझी माइती घर समेत नजाने गरेको पाइएको छ । स्याङ्जाको रत्नपुर गाविस–६ चापाकोटमा एक विपन्न परिवारमा जन्मेकी विष्णु माझी परिवारकी जेठी छोरी हुनुहुन्छ । गायिका माझीको अवस्था सार्वजनिक गर्न दबाब बढे पछि प्रहरीले माझीलाई सोधपुछका लागि बोलाएको थियो । तर, उहाँले आफ्नै इच्छाले गुमनाम जीवन बाँचिरहेको बताए पछि यो विषय त्यसै सेलाएको थियो । यसपालिको तीजमा ‘चरी जेलैमा’ बोलको गीत सार्वजनिक भए पछि फेरि उहाँ सार्वजनिक हुनु पर्ने कसरा उठिरहेको छ ।

यतिबेला सरकारले उहाँलाई प्रसिद्ध प्रबल जनसेवाश्री पदक दिने घोषणा गरे पछि धेरैलाई उहाँ पदक लिन जानुहोला कि नजानु होला भन्ने जिज्ञासा लागेको छ । संविधान दिवसका अवसरमा सरकारले उहाँसहित विभिन्न क्षेत्रमा योगदान पुर्याएका ९ सय ३ जनालाई विभिन्न विभूषण र पदक दिने घोषणा गरेको छ ।अहिले घोषणा गरिएको विभूषण र पदक वैशाख १ गते विशेष समारोहका साथ राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गर्नु हुनेछ ।

तपाईको प्रतिक्रिया