बुटवलका मेयरमाथि आक्रमण गर्ने युवालाई सार्वजनिक मुद्दा
अनुसन्धानका लागि म्याद थप
बुटवल २०७८ असोज ६
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि आक्रमण गर्ने युवालाई सार्वजनिक मुद्दा चलाइएको छ । प्रमुख सुवेदीमाथि हातपात गर्ने गणेश पङ्गेनीलाई सार्वजनिक मुद्दा अन्तर्गत थप अनुसन्धानका लागि म्याद थप गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिनुभएको छ ।
सोमबार बिहान बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकन गर्ने क्रममा उपमहानगर प्रमुख सुवेदीलाई पङ्गेनीले एक्कासी आक्रमण गरी मुक्का प्रहार गरेका थिए । आक्रमणको चौतर्फी आलोचना र दबाबपछि प्रहरीले सोही दिन साँझ उनलाई पक्राउ गरेको थियो । थप अनुसन्धानका लागि मंगलबार ५ दिनको म्याद थप गरिएको बुटवल इलाका प्रहरी कार्यालयका प्रमुख कुँवरले बताउनुभयो ।
उपमहानगरका प्रमुख सुवेदीले आफूमाथि आक्रमण गर्ने युवालाई कुनै पनि मुद्दा नचलाउन र हिरासतमा नराख्नका लागि प्रहरीलाई आग्रह गर्नुभएको थियो । बाढी तथा पहिरो पीडितहरुको आक्रोशलाई स्वभाविक भएको बताउँदै सुवेदीले आफ्नो कसैप्रति आग्रह–पूर्वाग्रह नरहेको उल्लेख गर्नुभएको थियो । इप्रका बुटवलका प्रमुख कुँवरले भने हालसम्म कुनै पनि लिखित आग्रह नआएका कारण त्यसै छाड्न नमिल्ने प्रतिक्रिया दिनुभयो। यस विषयमा प्रतिक्रिया लिँदा रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले पनि मुद्दा अघि बढ्ने बताउनुभएको थियो।
तपाईको प्रतिक्रिया