मलाई माफ गरिदिनुहोला, अर्को जुनी म हजुरहरूकै काखबाट जन्मिन चाहन्छु
सीता भण्डारीको सुसाइड नोट
बुटवल - २०७८ असोज १६
रुपन्देही तिलोत्तमा नगरपालिका-५ की २७ वर्षीया सीता भण्डारी पौडेलले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शुक्रबार उनको मृत्यु प्रकरणबारे हालसम्म भएका अनुसन्धानबारे जानकारी दिएको हो।
पौडेल भदौ २० गते बिहान साढे ४ बजे आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। उनको हत्या भएको भन्दै माइती पक्ष, आफन्त तथा स्थानीयले रुपन्देहीमा आन्दोलन गर्दै आएका थिए।
सीताको मृत्यु प्रकरणलाई लिएर आन्दोलन सुरू भएपछि इलाका प्रहरी कार्यालय बुटवल र केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले स्थलगतरुपमा प्राविधिक विश्लेषण गरेको थियो । अनुसन्धान अनुसार पौडेलको मृत्यु कर्तव्यबाट नभई झुण्डिएर मृत्यु भएको देखिएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताउनुभयो।
अनुसन्धानका क्रममा मृतक सीता र उनका श्रीमान टिका पौडेलको मोबाइलको प्राविधिक परीक्षणसमेत गरिएको थियो। डिजिटल फरेन्सिक ल्याबमा मोबाइल परीक्षण गर्दा सीताले आफ्ना श्रीमानको नाममा आइफोनको नोट एप्लिकेसनमा सुसाइड नोट लेखेको भेटिएको थापाले बताउनुभयो।
अनुसन्धान अनुसार आत्महत्या गर्नुअघि २० गते नै राति पौडेलले श्रीमानलाई राति १२ बजेर १७ मिनेटमा सुसाइड नोट लेखेको पाइएको छ। फरेन्सिक रिपोर्टमा सीताले नेपालीमा लेखेको सुसाइड नोट प्राप्त भएको थापाले जानकारी दिनुभयो। ‘सुसाइड नोटमा मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो, म हजुरहरूकै काखबाट जन्मिन चाहन्छु, मलाई यो जिन्दगीबाट पुग्यो, म बाँच्न सकिनँ भनी लेखिएको छ,’ थापाले भन्नुभयो।
मोबाइलको फरेन्सिक परीक्षण हुँदा सुसाइड नोट र त्यसअघि पौडेलले श्रीमानलाई लेखेको एसएमएसहरूको परीक्षण गरिएको बताउदै थापाले यसरी परीक्षण गर्दा उहाँले आत्महत्याअघि लेखेको सुसाइड नोट र त्यसअघि श्रीमानलाई लेखेको एसएमएसको प्यार्टनसमेत मिलेको देखिन्छ,’ भन्नुभयो।
भदौ २२ गते सीताका बुवा हरिप्रसाद भण्डारीले श्रीमान् टिका पौडेल, जेठाजु हरिप्रसाद पौडेल र उनकी आमाजु विष्णु पौडेलविरूद्ध आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दिनुभएको थियो । जाहेरी आएपछि प्रहरीले श्रीमान् टिका, जेठाजु हरिप्रसाद र आमाजु विष्णुलाई पक्राउ गरिसकेको छ। उनीहरूविरूद्ध आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान भइरहेको थापाले बताउनुभयो।
तपाईको प्रतिक्रिया