00:00:00
स्वास्थ्य

भैरहवाको भिम अस्पतालमा लुम्बिनी प्रदेशकै ठूलो अक्सिजन प्लाण्ट

बिहीबार कार्तिक ११, २०७८/ Thursday 10-28-21

भैरहवा २०७८ कार्त्तिक ११ 

       भिम अस्पताल भैरहवामा अक्सिजन प्लाण्टको स्थापना भएको छ । भिम अस्पतालमा प्रदेशमै ठूलो क्षमताको अक्सिजन प्लाण्ट स्थापना भएको अस्पताल व्यवस्थापनले जनाएको छ। भैरहवामा स्थापना भएको प्लाण्टबाट दैनिक २ सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमता रहेको पिडी ईन्जिनियरिङ प्रालीका प्रवन्ध निर्देशक धर्म पौडेलले बताउनुभयो। लिक्विड अक्सिजन नभई हावाबाट नै अक्सिजन उत्पादन गर्ने मेशिन जडान भएको पौडेलले जानकारी दिनुभयो।

  प्लाण्टबाट पाईपको माध्यमबाट अक्सिजन चाहिने बिरामीको बेडमै अक्सिज पुर्‍याउने र आवश्यक परेको समय सिलिण्डरमा भरेर भण्डारण समेत गर्न सकिने ब्यवस्था रहेको पौडेलले जानकारी दिनुभयो। भिम अस्पतालमा जडान भएको अक्सिजन प्लाण्टको एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित थारुले उद्घाटन गर्नुभएको हो । मन्त्री थारुले कोरोना महामारीबाट पाठ सिक्दै तेश्रो लहरको महामारी भित्रिए त्यसबाट जोगिन अग्रिम प्रयास स्वरुप अक्सिजन प्लाण्ट स्थापना गरिएको बताउनुभयो । दोश्रो लहरमा अक्सिजनको चरम अभाव भएको हुदा नागरिक स्तरबाट नै यसको अक्सिजन प्लाण्ट स्थापनाको कुरा उठेको थियो ।

    बिक्रम सम्बत १९९० सालमा १५ शैयाको अस्पतालबाट सुरु भएको भिम अस्पतालले त्यसपछि २५ शैया हुदै अहिले ५० शैयाको अस्पतालको रुपमा रहेको छ । ५० शैयाको अस्पताल भए पनि अहिले भिम अस्पतालबाट १ सय २० शैया बढी राखी उपचार गर्दै आएको छ । अक्सिजनकै अभावमा सर्पदंशका बिरामी, सुत्केरी महिला लगायतलाई कठिनाई हुदै आएकोमा अब केही सहज हुने अस्पतालकी मेडिकल सुपरिडेन्टेन डाक्टर शकुन्तला गुप्ताले बताउनुभयो।

तपाईको प्रतिक्रिया