दाङ २०७८ कार्तिक १४
असोज/कार्तिक महिनामा घोराही उपमहानगरपालिका ११ शिवपुर क्षेत्रमा रहेका सामुदायिक वन प्युपाले सकाएको छ ।शिवपुर सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता टेकन योगीका अनुसार गएको चैत/वैशाखमा डढेलोबाट बचाएको वन अहिले प्युपाले सखाप पारेको हो ।
त्यस क्षेत्रमा रहेका चारवटा सामुदायिक वनमा एक महिनादेखि ल्युकोमा सेलेसिस प्रजातिको पुतलीको प्युपाले एकानब्बे हेक्टर क्षेत्रफलका आठ हजार बढी सालका रुखका पात खाएको अनुमान गरिएको छ । वनमा रुख छन् तर रुखका पात प्युपाले खाएको योगीले बताउनुभयो ।
शिवपुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भक्त रोकाका अनुसार एक महिना अघि नै प्युपा देखिएको थियो । पुतली भनेर वास्ता नगरेको तर अहिले वन नै सखाप पारेको उहाँको गुनासो छ । डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत खिमबहादुर केसीका अनुसार वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको सङ्घ र प्रदेशको टोलीले प्रभावित क्षेत्रमा पुगेर अनुसन्धान र क्षतिको विवरण सङ्कलन गरेर फर्किएको छ ।
सबैभन्दा बढी शिवपुर सामुदायिक वन क्षेत्रमा ६१ हेक्टर र जनज्योति, हिङाली महिला, सूर्यज्याेति सामुदायिक वनको ३० हेक्टर क्षेत्रफलमा प्रभावित पारेको छ । उपभोक्ताले विषादी राख्ने र प्युपा टिप्दै खाल्डोमा पुर्ने गरेका छन् ।
तपाईको प्रतिक्रिया