एसएसबी हतियार सहित ,सुस्तामा फेरि अतिक्रमणको प्रयास
हरि शर्मा,नवलपरासी
२०७८ कात्तिक २३
सुस्तामा भारतीय पक्षले फेरि अतिक्रमणको प्रयास गरेको छ । पछिल्लो पटक भारतीय अर्धसैनिक बल( एसएसबी) हतियारसहित सुस्ता क्षेत्रमा प्रवेश गरेर अतिक्रमणको प्रयास गरेका हुन् । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ५ मा रहेको नारायणी नदी पारीको गाउँ सुस्ता पटक पटक भारतीय पक्षको अतिक्रमणमा पर्दै आएको क्षेत्र हो ।
पछिल्लो पटक आइतबार र सोमबार भारतीय एसएसबीहरु हतियारसहित पुगेर सुस्ता क्षेत्रको नापजाँच नै गरेपछि बाँकी रहेको जमिन समेत फेरि भारतले खोसेर लग्ने हो की भन्नेमा सुस्तावासीको चिन्ता बढेको छ । अतिक्रमणको प्रयास स्वरुप उनीहरुले हरेक वर्ष नापजाँच गर्दै आएको स्थानीय रविन्द्र जयसवालले बताउनुभयो। अहिले २ दिन फिता लगाएर नापजाँच गरेका एसएसबीले ६ महिना अघि पनि सुस्ता क्षेत्रमा ड्रोन चलाएका थिए । यसपटक भने ड्रोन नभई सुस्ताको पश्चिमतर्फ फिताले नापचाँच गरेर गएको जयसवालले बताउनुभयो।
सुस्ता क्षेत्रमा २०६२ जेठ १७ देखि भारतीयले अतिक्रमण कार्य बढाउदै गएका हुन् । अतिक्रमण बढेपछि २०६४ सालमा दुवै देशका जिल्लास्थित सुरक्षाअधिकारीको सहमति अनुसार १९ हजार ४ सय ८० हेक्टर जमिन कुनै पनि पक्षले जोतभोग र उपयोग नगर्ने सहमति गरिएको थियो । उक्त जमिनको सुस्तावासीसँग लालपुर्जा छ । तर भारतीय पक्षको दबाबका कारण त्यसबेलाको जिल्लास्थित सुरक्षाअधिकारीहरुले जोतभोग नगर्ने सहमति गरेको हो ।
त्यही जमिनमा अहिले एसएसबीले नापजाँच गरेको हो । भारतले विवाद निकालेको उक्त जमिनको १ सय १३ जनासँग लालपुर्जा रहेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो। ‘मालपोत भएको जग्गामा विवाद निकाल्दा समेत सरकार मौन छ ।’ पाण्डेले भन्नुभयो । एसएसबीले नापजाँच सुरु गरेपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रसहितको जिल्ला सुरक्षा समितिका अधिकारीहरु सोमबार सुस्ता क्षेत्रमा पुगेर स्थलगत अनुगमन गरेको छ । सीमा सुरक्षाका लागि सुस्तामा शसस्त्र प्रहरी र नेपाल प्रहरीको पोष्ट छ ।
हतियार सहित आएका एसएसबीले गरेको नापजाँचका बारेमा माथिल्लो निकायमा जानकारी गराएको प्रमुख जिल्ला अधिकारी मिश्रको भनाई छ । ‘हतियारसहित नापजाँचका लागि एसएसबी आएको स्थानीयबाट खबर पायौं ।हाम्रो प्रहरीको टोली नपुग्दै उनीहरु गइसकेका रहेछन् । ’ प्रजिअ मिश्रले भन्नुभयो । विना अनुमति सुस्ता क्षेत्रमा एसएसबी प्रवेश गरेको बारे गृहसचिव र शान्ति सुरक्षा महाशाखा प्रमुखलाई जानकारी गराएको प्रजिअ मिश्रले बताउनुभयो। ‘मैले यसबारे भारत बिहार प्रदेश पश्चिम चम्पारन जिल्लाका प्रमुख (डिएम) कुन्दन कुमारलाई पनि जानकारी गराएको छु । उहाँले यो गलत काम भएको र त्यसबारे मातहतलाई निर्देशन दिने बताउनु भएको छ । ’ प्रजिअ मिश्रले भन्नुभयो ।
कुल ४० हजार ९ सय ८० हेक्टर क्षेत्रफलमा फैलिएको छ । त्यसमध्ये १४ हजार हेक्टर जमिन भारतीयले अतिक्रमण गरिसकेको छ । ७ हजार ५ सय हेक्टर मात्र भोग चलन गर्दै आएका छन् । भारतले विवाद निकालेको १९ हजार ४ सय ८० हेक्टर जमिनमा भारतीय पक्षले पटक पटक गिद्दे नजर लगाउँदै आएको छ ।
तपाईको प्रतिक्रिया