हरि शर्मा,परासी
२०७८ कात्तिक २५
बुटवल–नारायणगढ खण्डमा पर्ने नवलपरासीको दाउन्ने पहाडको सडक हरेक दिन अवरुद्ध हुँदा यात्रुहरुले सास्ती खेप्नु परेको छ । सडकमा बिग्रिएका सवारीसाधनका कारण आवतजावत रोकिन पुग्दा यात्रुले सास्ती खेप्नु परेको हो ।
सामान बोकेका सवारीसाधन बिग्रिएपछि व्यवस्थापनमा समस्या हुने र सडकमै मर्मत गर्नुपर्ने अवस्था रहेको छ । मर्मत नभएसम्म एकतर्फी सञ्चालन हुने गरेको छ । जसका कारण यात्रुलाई १४ कि.मि.को दुरी पारगर्न ५ देखि ८ घण्टासम्मको समय लाग्ने गरेको छ । बुटवल देखि नारायणगढ सम्मको १ सय १३ कि.मि. सडक विस्तारको काम चाइनाको एक कम्पनीले गरिरहेको छ ।
सवारीसाधनको अत्याधिक चाप हुने उक्त सडक दर्जनौं स्थानमा खाल्डा खुल्डी छन् । उकालो सडक मर्मत भइरहेकाले क्षमताभन्दा बढी सामान बोकेर आएका मालबहाक ट्रक बीचमै बिग्रिने गरेका कारण सडक जाम हुने गरेको हो ।भिरसहितको साँघुरो सडक भएकाले सवारीसाधन बिग्रिएपछि व्यवस्थापन गर्न समय लाग्ने भएकाले जामको समस्या भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिनु भयो ।
हरेक दिन मालबहाक ट्रक बिग्रिने गरेका कारण महिनामा ५÷७ दिनबाहेक अन्य दिन एकतर्फी मात्र सडक सञ्चालन हुने गरेको छ । क्षमताभन्दा बढी सामान बोकेर आएका सवारीसाधनलाई ट्राफिकले रोक नलागउँदा पनि यो समस्या आइपरेको स्थानीयको भनाई छ ।
तपाईको प्रतिक्रिया