एमाले राष्ट्रिय महाधिवेशन बुटवल–नारायणगढ सडकमा ठूला सवारीसाधनलाई रोक
हरि शर्मा,परासी
२०७८ मंसिर ९
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनलाई मध्यनजरगर्दै बुटवल–नारायणगढ सडकहुँदै गुड्ने ठूला सवारीसाधनमा रोक लगाइएको छ । दाउन्नेमा हुने जामलाई मध्यनजरगर्दै पूर्वी र पश्चिम नवलपरासी जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको नवलपुरमा सम्पन्न बैठकले आज (बिहीबार) साँझ ६ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि ठूला सवारीसाधनको आवागमनमा रोक लगाइएको हो ।
विशेष गरी दाउन्ने सडकको जामलाई लक्षित गर्दै सवारीसाधनमा रोक लगाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताउनुभयो । साँघुरो र उकालो÷ओरोलो सडक रहेको दाउन्नेमा मालबहाक सवारीसाधनका कारण दिनहुँ जाम हुने गरेको छ । जाम भइहालेमा तत्काल बाटो खुलाउन क्रेनेका व्यवस्था गरिएको छ ।
लुम्बिनी, कर्णाली र सुदुरपश्चिमहुँदै आउने मानिस दाउन्ने सडकहुँदै जानुपर्ने हुन्छ । लुम्बिनी प्रदेशबाट मात्रै ८० हजार कार्यकर्ताहरु महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुने गरी व्यवस्था मिलाइएको एमाले लुम्बिनी प्रदेश कमिटीका सचिव भूमिश्वर ढकालले जानकारी दिए । दाउन्ने सडकको अवस्थाका कारण मालबहाक ट्रक, टिपर र अन्य खाली ट्रकलाई पूर्ण रुपमा रोक लगाइएको छ ।
बुटवलहुँदै काठमाण्डौं जाने यात्रुबहाक बस र निजी गाडीलाई समेत पोखराहुँदै आवतजावत गर्ने गरी व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिनुभयो । पूर्वपश्चिम भएर जाने सवारीसाधनलाई बिहीबार साँझदेखि नै रुपन्देही र गैंडाकोटबाट रोक लगाइने छ । आवतजावतमा थप सहजता ल्याउन चारवटै सुरक्षा निकायका २ जनाका दरले सम्पर्क अधिकारी तोकेर संयुक्त गस्तीलाई परिचालन गरिएको मिश्रले बताए ।
तपाईको प्रतिक्रिया