देशका पहाडी क्षेत्रको मौसममा आज बदली, पश्चिमी वायुको प्रभाव भोलि बेलुकादेखि
काठमाण्डौ २०७८ माघ १८
आज देशका पहाडी क्षेत्रमा मौसम बदलिएको छ । तराईका केही जिल्लामा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बद्ली रहनेछ । लुम्बिनीसहित प्रदेश–१, वाग्मती, गण्डकी र मधेस प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
देशका उच्च पहाडी तथा हिमाली केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र भोलि बेलुकादेखि यसको प्रभाव थप बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । मौसमबिद् मञ्जु बासीका अनुसार भोलि बुधबार बेलुकादेखि पश्चिमी वायुको प्रभाव थप बढ्दै जाने र पर्सि बिहीवार पश्चिम क्षेत्रमा तथा शुक्रवार देशैभर यसको प्रभाव रहने छ ।
पश्चिमी वायुको प्रभावका कारण बिहीवार बेलुका र शुक्रवार हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । चिसो बढ्ने भएकाले थप सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
तपाईको प्रतिक्रिया