00:00:00
स्थानिय

लुम्विनी प्रदेशसभाले आज स्थापना दिवस मनाउँदै

शुक्रबार माघ २१, २०७८/ Friday 02-04-22

लुम्बिनी प्रदेशसभाले आज स्थापना दिवस मनाउँदै छ । प्रदेशसभाको पहिलो कार्यकाल सकिन अव आठ महिना मात्र बाँकी रहँदा लुम्बिनी प्रदेशसभाले ६७ विधेयक पारित गरेको छ । ती मध्ये अधिकांश विधेयक निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलको पालामा पारित भएका छन् । लुम्बिनी प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभा स्थापनादेखि अहिलेसम्म दर्ता भएका ७४ विधेयकमध्ये ६७ विधेयक पारित भएका छन् । दर्ता भएका विधेयकमध्ये दुई विधेयक विषयगत समितिमा र एउटा प्रदेशसभा सचिवालयमा विचाराधीन छन् । अन्य चार विधेयकमध्ये प्रदेशसभाबाट एक र प्रदेशसभाको विषयगत समितिबाट तीन विधेयक फिर्ता भएका छन् । स्थापना दिवसका अवसरमा प्रदेशसभाले प्रदेशमा रहेका १२ जिल्लाका माध्यमिक विद्यालयमा ‘संघीयता कार्यान्वयनमा प्रदेशसभाको भूमिका’ विषयक निवन्ध प्रतियोगिता आयोजन गर्ने भएको छ । प्रदेशसभा सचिवालयले यसअघि नै निवन्ध इमेलमा पठाउन आग्रह गर्दै प्रदेशका सबै स्थानीय तह र शिक्षा कार्यालयमार्फत विद्यालयलाई पत्राचार गरेको थियो । निवन्ध एक हजार शब्दको हुनुपर्ने प्रावधान राखिएको छ । विद्यालयबाट एक छात्र र एक छात्राको अनिवार्य उपस्थिति आवश्यक रहेको बताइएको छ ।  प्रतियोगितामा प्रथम पुरस्कार १५ हजार, दोस्रो १० हजार, तेस्रो आठ हजार र सान्त्वना पाँच हजार रूपैयाँ राशिको पुरस्कार र प्रमाणपत्र रहेको छ । कोभिड–१९ का कारण यस वर्ष भर्चुअलरूपमा स्थापना दिवस मनाउने निर्णय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया