तिलोत्तमा ।
नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रले २५१ ग्राहकको नामावली कालोसूचीमा राखेको छ । पटकपटक ताकेता गर्दासमेत बक्यौता नतिरेको भन्दै उनीहरूलाई कालोसूचीमा राखेको हो ।विद्युत उपभोग गर्ने तर लामो समयदेखि महसुल नबुझाएका ग्राहकसँग शुल्क उठाउन बाँकी रहेको केन्द्रले जनाएको छ ।
यो शुल्क जरिवानाबाहेकको हो । बक्यौता शुल्क प्राधिकरणले असुल गर्दा ५ प्रतिशत देखि २५ प्रतिशतसम्म जरिवाना लिने गरेको छ । महसुल समयमा नतिर्ने धेरैजसो उद्योगी, सरकारी तथा सार्वजनिक निकाय छन् । त्यस्तै घरायसी, सडक बत्ती, होटल, विद्यालय, संस्था, सिँचाइ र खानेपानीलगायतले पनि करोडौ महसुल तिर्न बाँकी छ । भैरहवाअन्तर्गत टं«क लाइनमा पर्ने उद्योग एभरेस्ट रोलिङ मिल, सोना पोलिमर्स, फेरो स्टिल, जगदम्बा सिन्थेटिक, एसआर फुड, सिद्धार्थ पेट पलास्ट र सोना प्याकेजिङ रहेको छ ।
चालू वर्षको ६ महिनामा मात्रै दुई करोड ९० लाख बक्यौता असुल गरी तीन सय ५७ ग्राहकको विद्युत पुनः जडान गरेको भैरहवा वितरण केन्द्रका लेखा प्रमुख ओमबहादुर दर्लामीले जानकारी दिए । यो अवधिमा मात्रै चार सय १० ग्राहकको विद्युत काटिएको छ, उनीहरूबाटै तीन करोड ५० लाख बक्यौता असुल गर्नुपर्ने छ ।
चालू वर्षमा मात्रै एक हजार नौ सय १२ ग्राहक थपिएसँगै ग्राहक संख्या बढेर ७९ हजार चार सय ४६ पुगेका छ । वितरण केन्द्रले झन्डै ८२ करोड विद्युत् बक्यौता उठाउन बाँकी छ ।
तपाईको प्रतिक्रिया