00:00:00
स्थानिय

तिलोत्तमा मिडिया क्लवद्वारा 'ज्ञानकाशी स्मृती पत्रकारिता' पुरस्कारको घोषणा

आइतबार फाल्गुण १, २०७८/ Sunday 02-13-22

तिलोत्तमा । तिलोत्तमा मिडिया क्लवले २५ हजार राशीको “ज्ञानकाशी स्मृती पत्रकारिता पुरस्कार” घोषणा गरेको छ । क्लवका सल्लाहकार एवं वरिष्ठ पत्रकार मोहन चापागाईंसँगको सहकार्यमा क्लवले ज्ञानकाशी स्मृती पत्रकारिता पुरस्कार घोषणा गरेको हो । 
सललाहकार चापागाईले आफ्ना स्वर्गीय माता ज्ञानकुमारी र पिता काशीरामको सम्मानमा पुरस्कार स्थापनाका लागि तिलोत्तमा मिडिया क्लवलाई सहयोग गर्नुभएको हो । आइतबार आयोजित तिलोत्तमा मिडिया क्लवको बैठकमा यसै वर्षदेखि तिलोत्तमा नगर क्षेत्रमा क्रियाशील एकजना पत्रकारलाई पुरस्कृत गर्ने र पुरस्कारको राशी भविष्यमा वृद्धि गर्दै लैजाने सहमति भएको छ ।
सहमति अनुसार चापागाईले पुरस्कारको स्रोत व्यवस्थापनका लागि आवश्यक रकम ज्ञानकाशी स्मृती प्रतिष्ठानको कोषमा राख्ने र त्यसको ब्याजबाट प्राप्त हुने रकम हरेक वर्ष उत्कृष्ट पत्रकारलाई निश्चित कार्यविधि बनाई छनोट गरी पुरस्कृत गरिने छ ।
‘मेरा मातापिताको सम्झनामा पत्रकारिता पुरस्कार स्थापना गर्ने सोच अनुसार तिलोत्तमा मिडिया क्लवसँग मिलेर यो काम गरेको हुँ, यसले पत्रकारितामा संलग्नहरुको लेखनवृत्तिका लागि प्रोत्साहन मिल्ने अपेक्षा गरेको छु’, बैठकमा सहभागी चापागाईंले भन्नुभयो । उहाँले व्यावसायिक पत्रकारिताको बलियो जग बसाउनु आवश्यक रहेको र त्यसका लागि सम्मान तथा पुरस्कारहरुको संख्या र गुणस्तर दुबै बढाउनु पर्नेमा जोड दिनुभयो । तिलोत्तमा मिडिया क्लवका अध्यक्ष लक्ष्मण पौडेलले २५ हजार राशीको पत्रकारिता पुरस्कार घोषणा गर्न पाउँदा खुसी लागेको र यसले मिडिया क्लवमा आवद्ध पत्रकारहरुलाई थप मेहनतका लागि पनि प्रेरित गर्ने बताउनुभयो ।
बैठकले क्लवको दोस्रो अधिवेशन यही फागुन २८ गते गर्ने निर्णय गर्दै अधिवेशनकै दिन पहिलो पुरस्कार प्रदान गर्ने निर्णय पनि गरेको छ । बैठकले अधिवेशन सम्पन्न गर्नका लागि उपाध्यक्ष बीपी गौतमको संयोजकत्वमा सचिव टिआर शर्मा, सहसचिव डिआर बन्जाडे, कोषाध्यक्ष कल्पना तिवारी र सदस्य हरिकला पाण्डे रहेको तयारी समिति समेत गठन गरेको छ । 
त्यस्तै बैठकले तिलोत्तमा लगायत यस क्षेत्रमा सक्रिय पत्रकारहरुका लागि लैंगिकमैत्री पत्रकारिता तालिम सञ्चालनमा लागि तिलोत्तमा नगरपालिकासँग प्रस्ताव गर्ने निर्णय गरेको सचिव टिआर शर्माले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया