00:00:00
राष्ट्रिय

राज्यले शिक्षाको माध्यमबाट मातृभाषालाई अतिक्रमण गर्न खोजेको आरोप

आइतबार फाल्गुण १५, २०७८/ Sunday 02-27-22


तिलोत्तमा । 
आज मगर दिवस । २०३९ साल फागुन १५ गते स्थापना भएपछि प्रत्येक वर्षको फागुन १५ गतेलाई मगर दिवसको रुपमा मनाउंदै आइएको मगर लेखक संघका केन्द्रिय अध्यक्ष तथा मगर भाषा अध्यता विष्णु सिंजालीले बताउनुभयो । उहांले मगर भाषा राज्यको मुल धारमा नभएको तर  भाषा संस्कृती नेपालको सम्पत्ति भएकोले राज्यले यसलाई पहिचान गर्न सक्नुपर्नेमा जोड दिनुभएको छ । 

आईतवार विहान रेडियो लुम्विनीसंगको कुराकानीको क्रममा सिंजालीले अंग्रेजी भाषालाई वढि प्राथमिकता दिएको सन्दर्भलाई जोड्दै त्यसका कारण आदिवासिय भाषा संस्कृतीको विनास भएको बताउनुभयो । भाषा संस्कृतीमा पुस्ता हस्तान्तरणको सन्दर्भलाई जोड्दै ै सिंजालीले विद्यालयमा भएको शिक्षाको विकासका कारण आफ्नो भाषा प्रति भन्दा पनि मगरयुवाहरु पश्चिमा भाषा संस्कृतिप्रति आकर्षित भएकोले अव त्यतातर्फ सोंच्नुपर्ने समय भएको बताउनुभयो । उहांले यहि अवस्थामा गयो भने मगर भाषा केहि दशकपछि पुर्ण रुपमा हराउन सक्ने भन्दै चिन्ता ब्यक्त गर्नुभयो । 

सिंजालीले  राज्यले शिक्षाको माध्यमबाट मातृभाषालाई अतिक्रमण गर्न खोजेको आरोप लगाउनुभयो । उहांले मगर भाषाको उत्थानका लागि शसक्त रुपमा कलम चलाउन आग्रह गर्दै मगर भाषा सस्कृती मगरसमुदायको मात्र नभएर देशकै सम्पत्ति भएको कारण पनि पनि यसलाई बचाउन सवै लाग्नुपने बताउनुभयो । 
लेखक सिंजालीले एक सय भन्दा वढि कथा कविताको पुस्तक ,एक दर्जन भन्दा बढी उपन्यास मगर भाषामा प्रकाशित भएको र आफैले पनि आधा दर्जन भन्दा बढी  पुस्तक मगर भाषामा सम्पादन गरेको उहांले बताउनुभयो । मगरले ब्यक्तिगत रुपमा गरेको प्रयासले मात्र सम्भव नभएको भन्दैं मगर भाषा संस्कृती बचाईराख्न राज्यको विशेष ध्यान पुग्न जरुरी रहेको सिंजालीले बताउनुभयो । त्यस्तै यसपटक नेपाल मगर सङ्घका पूर्वअध्यक्ष झकबहादुर थापाको निधन भएकाले ४०औँ राष्ट्रिय एकता दिवसलाई शोकका रुपमा मनाउन लागेको सङ्घले जनाएको छ । थापाको यही फागुन ११ गते उपचारको क्रममा काठमाण्डौमा निधन भएको थियो । दिवसको अवसरमा मगर समुदायको बाहुल्यता रहेका स्थानीय तहले आज सार्वजनिक बिदा समेत दिएका छन् । पाल्पामा १०वटै स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

तपाईको प्रतिक्रिया