आज २५६६ औं बुद्ध जयन्ती मनाइँदै, लुम्बिनीमा बुद्ध जयन्ती समारोह
जेष्ठ २, लुम्बिनी
सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरूप आज २५६६ औं बुद्ध जयन्ती देशभर मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।
यस अवसरमा हुने बुद्ध जयन्ती समारोहलाई आज प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्र्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम छ । बुद्ध जयन्ती समारोह सम्बोधन र मोदिसित लुम्बिनीमा भेटवार्ताका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार साँझ नै लुम्विनी आउनुभएको छ । उहाँसंगै संघीय सरकारका मन्त्रीहरु पनि हुनुहुन्छ ।
लुम्बिनी विकास कोषका अनुसार प्रधानमन्त्री देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण, पराराष्ट्रमन्त्री नारायण खड्का, भौतिक पूर्वाधारमन्त्री रेनुकुमारी यादव, पर्यटनमन्त्री प्रेमबहादुर आले, शिक्षामन्त्री देवेन्द्र पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मुख्यसचिव शंकर बैरागीलगायत उच्च पदस्थ व्यक्ति आइपुगेका हुन् । प्रधानमन्त्री देउवाले सोमबार बिहान भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने कार्यक्रम छ ।
भारतका प्रधानमन्त्री मोदी सोमबार बिहान साढे १० बजे वायु सेनाको हेलिकोप्टरबाट यहाँ आइपुग्नुहुनेछ। प्रधानमन्त्री मोदी सवार हेलिकोप्टर सोमबार बिहान सभाहलको अगाडि निर्माण गरिएको हेलिप्याडमा उत्रिनेछ । त्यसपछि मायादेवी मन्दिरमा पूजालगायत कार्यक्रम छन् ।
भारतको संस्कृति मन्त्रालयले यहाँ निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी) को नेपाल र भारतका प्रधानमन्त्रीले शिलान्यास गर्नेछन् । अपराह्न दुवै मुलुकका प्रधानमन्त्रीले २५६६ औं बुद्ध जयन्ती समारोह सम्बोधन गर्ने कार्यक्रम छ ।
दुवै मुलुकका प्रधानमन्त्री समारोहमा सहभागी हुने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ । सुरक्षा स्रोतका अनुसार नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका गरी १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सुरक्षालाई ध्यान दिएर बुद्ध जयन्ती समारोहमा पाहुनाको प्रवेशलाई कडाइ गरिएको छ । सुरुमा तीन हजारलाई सहभागी गराउने भनिएकामा अहिले संख्या घटाइएको लुम्बिनी विकास कोषले जनाएको छ । समारोह भने पाँच हजार जना अट्ने अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा ध्यान केन्द्रमा हुनेछ ।
यसअघि नेपाली प्राविधिकले हेलिप्याड निर्माण गरेका थिए । अवलोकनका लागि आएका भारतीय प्राविधिकले चित्त नबुझाएपछि पटक–पटक हेलिप्याड मर्मत गरिएको थियो ।
मायादेवी मन्दिरमा पूजा र भारतीय विहार शिलान्यासपछि प्रधानमन्त्री मोदीले लुम्बिनी नजिकै रहेको पाँचतारे होटल पवन प्यालेसमा गएर विश्राम गर्ने कार्यक्रम छ । त्यहाँ प्रधानमन्त्री देउवाले समकक्षी भारतीय प्रधानमन्त्रीलाई दिवा भोज आयोजना गर्नेछन् । उक्त होटलमै दुवै प्रधानमन्त्रीबीच भेटवार्ता र समझदारीपत्रमा हस्ताक्षरको कार्यक्रम छ ।
यसअघि सन् २०१४ डिसेम्बर १० मा प्रधानमन्त्री मोदी लुम्बिनी भ्रमणमा आउने तय भएको थियो । यहाँ सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा अन्तिम चरणमा उक्त भ्रमण रद्द भएको थियो । यसपटक भ्रमण सफल हुने भएपछि यहाँका पर्यटन व्यवसायी र बौद्ध धर्मावलम्बी लुम्बिनीको प्रवर्द्धन हुने विश्वासले उत्साहित छन् । यहाँ आयोजना गरिने कार्यक्रममा बौद्ध धर्मका प्रमुख भिक्षु, भिक्षुणी र लामा गुरुको सहभागिता रहने भएको छ ।
तपाईको प्रतिक्रिया