00:00:00
राष्ट्रिय

तारा एअरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला

सोमबार जेठ १६, २०७९/ Monday 05-30-22

जेठ १६, काठमाण्डौ 
हिजोदेखि हराइरहेको तारा एअरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथि नारायण सिलवालले ट्विटरमार्फत जहाज रहेको ठाउँ पत्ता लागेको जनाकारी दिनु भएको छ । उहाँका अनुसार जहाज मुस्ताङको थसाङ २ सानोस्वरा क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

खराब मौसम र अँध्यारोका कारण रातभर रोकिएको खोजी काम आज बिहान ५ बजेदेखि सुरु भएको हो । घटनाको थप विवरण आउन बाँकी छ । 

हिजो बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको तारा एअरको जहाज सम्पर्कविहीन भएलगत्तै खोजी सुरु भएको थियो । हराइरहेको जहाज अन्तिम पटक जोमसोम टावरसँग हिजो बिहान १० बजेर ७ मिनेटमा घोडेपानी भन्ने ठाउँमा सम्पर्कमा आएको र त्यसपछि सम्पर्कविहीन भएको थियो ।

हराइरहेको जहाजमा चालक दलका तीन सदस्य, दुई जर्मन नागरिक, चार भारतीय नागरिक र १३ जना नेपाली गरी जम्मा २२ जना रहेका तारा एअरलाइन्सले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया