00:00:00
स्थानिय

लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आजदेखी टिकट र शय्या निःशुल्क

आइतबार श्रावण १, २०७९/ Sunday 07-17-22

साउन १, रुपन्देही
लुम्बिनी प्रदेशका दुईवटा प्रादेशिक अस्पतालमा बहिरंग (ओपीडी) र इमर्जेन्सी टिकट तथा जनरल बेड (शय्या) निःशुल्क भएको छ । प्रदेश सरकार मातहतमा रहेका बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र दाङको राप्ती प्रादेशिक अस्पतालमा टिकट र जनरल बेड निःशुल्क भएको हो । 
आइतबार बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा मुख्यमन्त्री कुलप्रसाद केसीले बिरामी बेनिमाया थापालाई निःशुल्क टिकट हस्तान्तरण गर्दै सेवा शुभारम्भ गर्नुभयो ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई ओपिडी र इमर्जेन्सीको टिकट तथा जनरल बेडमा शुल्क नलिने घोषणा गरेको थियो ।

मुख्यमन्त्री केसीले टिकट र जनरल बेड निशुल्क गर्न चालु आर्थिक वर्षमा एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको बताउनुभयो ।मुख्यमन्त्री केसीले छिटै १२ सय शय्याको १० तले भवन निर्माणको प्रक्रिया सुरु हुने र अस्पतालको आयस्रोतका लागि इलाका वन कार्यालयको जग्गा अस्पतालको स्वामित्वमा ल्याएर व्यवसायिक सटर र चिकित्सकका लागि आवास भवन बनाउने योजना रहेको पनि बताउनुभयो । 
संविधान सभा सदस्य विनोद पहाडीले प्रादेशिक अस्पतालमा निजी क्षेत्रलाई पनि जोड्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नरेन्द्र रानाले निःशुल्क सेवा संगै गुणस्तरमा ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. इन्द्र ढकालले अस्पतालले सेवा विस्तार र गुणस्तरमा सुधार गरेका कारण बिरामीको चाप निरन्तर बढ्दै गएको बताउनुभयो । अस्पतालमा एक महिनामा ३० हजार बिरामीले उपचार सेवा लिने गरेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालमा आइतबारदेखि नै निःशुल्क रगत सेवा पनि सुरु भएको छ । 
 

तपाईको प्रतिक्रिया