00:00:00
स्थानिय

पाल्पाबाट बुटवल जाने सिद्धबाबा सडकखण्डमा जोखिमयुक्त यात्रा गर्न सर्वसाधारण बाध्य

सोमबार श्रावण २, २०७९/ Monday 07-18-22

साउन २, पाल्पा 
पाल्पाबाट बुटवल जाने सिद्धबाबा सडकखण्डमा २०७५ यता ३८ सवारी दुर्घटनामा परेका छन् । दुर्घटनामा परी ३१ जनाको मृत्यु भएको छ भने एक सय २३ जना घाइते भएका छन् । सो सडकमाथिबाट निरन्तर पहिरो खसिरहन्छ ।

हिउँदको समयमा समेत सुख्खा पहिरो र ढुङ्गा खसिरहने यो खण्डको विकल्पको खोजि गर्दै रुपन्देहीको चरङ्गे मुडाबास चौकी भञ्ज्याङ ज्यामिरे झुम्सा सडक निर्माणको काम सुरू गरिएको ५ वर्ष भए पनि पूरा भएको छैन । सरकारले तीन वर्षभित्र सडक निर्माणको काम सक्ने बताए पनि भौतिक प्रगति ३५ प्रतिशत मात्रै भएको छ ।

पाँच वर्षमा २० करोड १६ लाख ५० हजार रकम खर्च भइसकेको छ भने यो सडक खण्डको २० किलोमिटरमा ट्रयाक निर्माण, ग्राभेल, कल्भर्ट तथा पुल निर्माणको लागि लुम्बिनी प्रदेश सरकारले ३० करोड रूपैयाँ खर्च गरिसकेको छ ।

आगामी आर्थिक वर्षको लागि ७ करोड १६ लाख ५० हजार रकम विनियोजन भएको लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री बिरबहादुर रानाले जानकारी दिनुभयो । सडक पूर्वाधार कार्यालय पाल्पाका प्रमुख अरुण गुप्ताका अनुसार समयमा नै काम भएको खण्डमा २०८० सम्ममा यो सडक खण्डको निर्माण सकिन्छ ।

यो सडक सञ्चालनमा आएपछि दुर्घटनाको जोखिम कम हुने अपेक्षा गरिएको भएपनि निर्माणमा ढिलाई भइरहेको छ । 
 

तपाईको प्रतिक्रिया