साउन १६ , कपिलवस्तु
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने बताउनुभएको छ । तिलौराकोट दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक प्रकृया पुरा गरिने उहाँले बताउनुभयो।
सोमवार तिलौराकोटको अवलोकन गर्दै मन्त्री श्रेष्ठले तिलौराकोटको सम्बर्धन र संरक्षणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो। भगवान गौतम बुद्धले बाल्यकाल बिताएको र २५ सय वर्षअघिको गणराज्य तिलौराकोट पुरातात्विक दृष्टिकोणबाट विश्वकै महत्वपूर्ण स्थल भएको मन्त्री श्रेष्ठको भनाइ छ।
तिलौराकोटसहित बुद्धस्थलमा अझै पनि उत्खनन र अन्वेषणको आवश्यकता रहेको उहाँले बताउनुभयो । तिलौराकोट दरबारको समुचित विकास एवं प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताउँदै उहाँले यस क्षेत्रको विकासमा स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारको सहकार्य जरुरी रहेको पनि बताउनुभयो ।
लुम्बिनीलाई ऐतिहासिक, धार्मिक र पुरातात्त्विक क्षेत्रको रूपमा विकास गर्ने सरकारको नीति रहेको बताउदै मन्त्री श्रेष्ठले बृहत्तर लुम्बिनी क्षेत्रमा पर्ने लुम्बिनी, तिलौराकोट र रामग्रामको एकीकृत विकास गर्नुपर्नेमा जोड दिनुभयो।
अवलोकनका क्रममा लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बौद्धकालीन इतिहास र तिलौराकोट दरबार क्षेत्रको उत्खननका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराएउनुभएको थियो।
तिलौराकोट इसापूर्व छैटौं शताब्दीमा योजनाबद्ध सहरीकरण भएको शाक्य राज्यको राजधानी हो। भगवान गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट विश्वभरका बौद्धमार्गीहरूका लागि महत्वपूर्ण स्थल मानिन्छ।
तपाईको प्रतिक्रिया