00:00:00
राष्ट्रिय

नेपालका चार हजारभन्दा बढी मानिसले सिकलसेलको उपचार गराउँदै 

बुधबार श्रावण १८, २०७९/ Wednesday 08-03-22

साउन १८, काठमाण्डौ 
नेपालका चार हजारभन्दा बढीले सिकलसेल र करिब एक हजार मानिसले थालेसेमियाको उपचार गराइरहेको पाइएको छ । बाँके, बर्दिया, दाङलगायतका तराईका जिल्लामा यी रोगका बिरामी बढी छन् ।

उस्ताउस्तै प्रकृतिका सिकलसेल र थालेसेमिया रोगले सबैभन्दा बढी पश्चिम तराईका थारु समुदाय प्रभावित छन् । जुनसुकै समुदायमा देखिने भएपनि यो रोग हाल थारु समुदायमा बढी देखिएको छ । सरकारले सिकलसेल भएका बिरामीलाई एक लाख बराबरको उपचार निःशुल्क गरे पनि थालेसेमियाका बिरामीहरूले यो सुविधा पाएका छैनन् ।

थालेसेमिया रोगका कारण ५ वर्षको छोराको पनि मृत्यु भएको बर्दिया राजापुरका ४० वर्षका मुन्नी थारुले बताउनुभयो । श्रीमान र २ छोरीलाई यो रोग लागेको भए पनि आर्थिक अभावका कारण हाल छोरीहरूको मात्र उपचार गराइरहेको मुन्नीको भनाइ छ । सिकलसेल र थालेसेमियाका बिरामीमा हात खुट्टा, शरिर दुख्ने, जण्डीस हुने, रक्त अल्पतालगायतका प्रमुख लक्षण देखिन्छन् । यस्ता समस्या लिएर भेरी अस्पतालमा आउने बिरामी दिनहुँ भेटिने गरेका छन् ।

जटिल अवस्थामा पुगेका बिरामीलाई परिवारले नै स्याहारसुसारमा पर्याप्त समय दिनेदेखि सम्पुर्ण उपचार खर्च बेहोर्नुपर्ने हुन्छ । अबका पुस्ताले रगत जाँच गरेर विवाह गरेमात्र यो रोगबाट बच्न सकिने भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन एवम् सिकलसेल फोकलपर्सन डा. राजन पाण्डेले बताउनुभयो । 
 

तपाईको प्रतिक्रिया