निर्वाचन सञ्चालन गर्न भारतले दियो नेपाललाई २ सय सवारी साधन
काठमाडौँ २०७९ कार्तिक १५
अगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सञ्चालनका लागि भारत सरकारले नेपाललाई सवारी साधन सहयोग गरेको छ । मंगलबार अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले २०० वटा सवारी साधन हस्तान्तरण गर्नुभएको हो ।
यी सवारी साधनले नेपालका विभिन्न संस्थालाई निर्वाचनका लागि आवश्यक प्रबन्ध मिलाइ थप व्यवस्थित गर्न सघाउ पुर्याउने भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यी सवारी साधनको हस्तान्तरणले नेपालभर रहेका विभिन्न संस्थाको ढुवानी एवम् सञ्चालन प्रबन्धलाई थप व्यवस्थित बनाई निर्वाचनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सघाउ पुर्याउने अपेक्षा गरिएको छ । नेपालले प्राप्त गरेको सवारी साधनमा १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन् ।
नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरूमा पनि भारत सरकारले नेपालका सुरक्षा निकाय र निर्वाचन आयोगको प्रयोगका लागि सवारी साधन उपलब्ध गराउँदै आएको थियो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै २००० वटा तथा नेपाली सेना र निर्वाचन आयोगलाई ४०० वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २४०० भन्दा बढी सवारी साधन सहयोग स्वरुप प्रदान गरेको भारतीय दूतावासले जनाएको छ ।
तपाईको प्रतिक्रिया