आफूलाई जन्म दिने आमा र आफू जन्मेको ठाउँ स्वर्ग भन्दा पनि महान
२०७९ कार्तिक २०
आज बिहान सामाजिक सञ्जाल हेर्दै गर्दा मेरो आँखा एउटा बुढी आमा रोईराखेको भिडियोमा गएर टक्क अडियो । उहाँले भन्नुभएको थियो “आफ्नो प्रेमिकालाई जति माया गछौँ नि त्यति नै माया आफ्नो आमा बाबालाई पनि गर्ने गर । खानाको मिठो मिठो परिकार नदेउ बस हाँसेर त्यसको सट्टा गुन्द्रुक ढिढो देउ हाँसी हाँसी मिठो मानेर खाँँन्छौ । तर कोहि पनि आमा बाबालाई वृद्वा आश्रम राख्ने काम नगर ।
"कसको आमा बाबाले आफ्नो छोराछोरीको नराम्रो चाहान्छ र ?" यो शब्द मेरो मुटुमा नराम्रो तरिकाले बिज्यो । कता कता आँखा रसाएको जस्तो लाग्यो । भित्रैबाट भक्कानो छुटेर आयो । नौँ महिना सम्म कोखमा राखी, धेरै दुख कष्ट सहेर आफ्नो सन्तानलाई यो धर्तीमा लेउछिन । बाबा आमाले आफ्नो इच्छा आकाङक्षा मारेर आफ्नो सन्तानको इच्छा पुरा गरिदिन्छन, बरु आफै भोको बसेर आफ्नो सन्तानको भोक मेटाउँछन ।
आमा बाबा भन्दा ठूला भगवान छैन पनि भन्दा हुन्छ । आफूलाई जन्म दिने आमा र बाबा नै भगवान हुन् । त्यसैले भन्ने गरिन्छ –‘मातृ देवो भवः, पितृ देवो भवः । बुढेसकालको सहारा भनेर दुख गरि गरि पढाउँछन लेखाउछन विवाह गरिदिन्छन । जब बुढेसकालले छुन्छ, जब आफ्नो छोराछोरीको सहारा माया ममता चाहिन्छ तब लगेर वृद्वा आश्रम छोड्छन । मलाई अच्चम के कुरामा लाग्छ भन्दा बाचुन्जेल छिछि र घृणा गर्ने सन्तानले बाबा आमाको देहान्त भएपछि काजकृया गरेर किन दुखमा भएको जस्तो देखावटी गर्छन ? र अर्को कुरा ३६४ दिन रुवाउने सन्तानले १ दिन अर्थात आमा बुबाको मुख हेर्ने दिन किन आफूले सधैँ माया दिए जस्तो गर्छन । मैले सबै सन्तानले आफ्नो आमा बाबालाई वृद्वा आश्रम छोड्छन भन्न खोजेको होइन । मैले त्यस्तो व्यक्तीलाई भन्न खोजेको हो जसले आफ्नो अधिकार त लियो तर आफूले पुरा गर्नुपर्ने कर्तव्य र्बिसिएको छ ।
हाम्रो नेपाली समाजमा आमा बाबालाई वृद्वा आश्रम छोड्ने त एउटा चलन भनौँ या फेसन भइसक्यो । हाम्रो समाजले किन यो कुरा बुझ्दैन कि वृद्ववृद्वा भनेको नेपाली समाजका गहना हुन् । आमाको महत्व यति धेरै छ कि आफूलाई जन्म दिने आमा र आफू जन्मेको ठाउँ स्वर्ग भन्दा पनि महान हुन्छ । त्यसैले त भन्ने गरिन्छ– ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।’ म भगवान सँग यहि प्राथना गर्छु कि आमा बाबाको आँसु झार्ने सन्तानलाई जन्म नदेउ ।
आमा बाबाको अभाव र माया के हो सडकमा बिताउने बालबालिकालाई गएर सोध जसलाई आमा बाबाको माया कस्तो हुन्छ भन्ने समेत थाहा छैन । हामी पनि एकदिन बाबा या आमा हुन्छौं तसर्थ हामीले जे गर्छाैं त्यहीनै आफ्ना भावी सन्ततीबाट पछि प्राप्त गर्दछौं । त्यसैले आमा बाबा हुदाँसम्म इज्जत र कदर गर्न सिक , मरेपछि जति पश्चताप गरेपनि फर्केर आँउदैनन । मन्दिरमा गएर पुजाआरधाना गरी भगवानलाई खुसी बनाउन भन्दा आफ्नो आमा बाबालाई खुसी राख भगवान आफै खुसी हुन्छन ।
लेखक :- निरुता गिरी
हाल तिलोत्तमा, शंकरनगर
तपाईको प्रतिक्रिया