00:00:00
खेलकुद

नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण फुटबल आज

बुधबार कार्तिक ३०, २०७९/ Wednesday 11-16-22

कात्तिक ३०, काठमाणडौ 
नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ । खेल दशरथ रंगशालामा साँझ साढे पाँच बजे सुरु हुनेछ ।

विश्व फुटबल महासंघ फिफाले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रुपमा नेपालसँग खेल्न लागेको हो । दशरथ रंगशालामा घरेलु टोलीले आज ५० औँ खेल खेल्दैछ । नेपालले सन् १९८४ बाट दशरथ रंगशालामा आधिकारिक अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको हो ।

सन् २०१८ को साफ च्याम्पियनसिपपछि यी दुई टोली पहिलो पटक खेल्दैछन् । मैत्रीपूर्ण फुटबलका लागि सम्पूर्ण तयारी पुरा भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

यो खेलका लागि एन्फाले सामान्य प्याराफिटतर्फ ५ सय, भीआईपीतर्फ १ हजार र ५ हजारको टिकट मूल्य तोकेको छ ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक प्रवेश कटुवालले नेपाली टोली उच्च मनोवलमा रहेको र पाकिस्तानलाई हराउन सक्षम रहेको बताएका छन् । यस्तै, संकटबाट उठेको पाकिस्तानी टोली जितको लागि उत्सुक रहेको पाकिस्तानका मुख्य प्रशिक्षक शहजात अनवरको भनाइ छ ।

तपाईको प्रतिक्रिया