00:00:00
स्थानिय

तानसेन–रिडी सडक दैनिक १० घण्टा बन्द

सोमबार मङ्सिर २६, २०७९/ Monday 12-12-22

२०७९ मंसिर २६, पाल्पा 

      पाल्पाबाट गुल्मी जाने तानसेन–रिडी सडक दैनिक १० घण्टा बन्द भएको छ । सडक चौडा गर्ने काममा निर्माण व्यवसायीलाई दैनिक काममा सहज गराउन सडक डिभिजन पाल्पाले सडक बन्द गरेको हो । सडक डिभिजनकाअनुसार बिहान ५ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र बेलुकी ७ बजेदेखि १० बजेसम्म दैनिक सडक बन्द गरेर काम भइरहेको छ ।

तानसेन–रिडी सडक खण्डको रिब्दिकोट गाउँपालिका–३, खस्यौलीको सिरुखर्क माल्मुल क्षेत्रमा सडक फराकिलो गर्ने काम भइरहेको छ । पुस ७ गतेसम्म दैनिक सडक बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदीप निरौलाले जानकारी दिनुभयो । एम्बुलेन्स, शववाहनलगायत अति आवश्यक सवारीसाधनलाई अवस्था हेरेर ओहोरदोहोर गर्न दिइने सडक डिभिजन प्रमुख निरौलाले बताउनुभयो ।

तानसेन–रिडी सडक खण्डको सिरुखर्कदेखि माल्मुल क्षेत्रमा झन्डै दुई किलोमिटर सडक साँघुरो र अप्ठ्यारो रहेको छ । यही सडक खण्डको लघुवा, जोर्ते क्षेत्रमा यसअघि पनि सडक चौडा गर्नका लागि पटकपटक सवारी साधन रोकेरै काम गरेको थियो । तर कामले पूर्णता नपाउँदा निर्माण व्यवसायीको सुविधाका लागि पुनः सवारी साधन रोकेर काम गर्नु परेको हो । सडक बन्द गरेर काम गरेपनि निर्माण व्यवसायीले काममा तीव्रता नदिँदा भने यात्रुले सास्ती बेहोर्नु परेको स्थानियले बताएका छन्।

तपाईको प्रतिक्रिया