रुपन्देही- तिलोत्तमा
२०७९ मंसिर २९
आज मलाई हजुरआमाको याद धेरै आयो । धेरै हिम्मत जुटाएर हजुरआमाको सम्झनामा केहि तितामिठा अनुभवहरु लेख्दै छु । मेरो लागि मेरो हजुरआमा कति प्यारो हुनुहुन्छ भन्ने कुरा म शब्दमा पनि बयान गर्न सक्दिन । मेरो लागि मेरो आमाबाबा भगवान जे भनेपनि मेरो हजुरआमा हो । त्यसैले होला अरु नातिनातिनी भन्दा म प्यारो थिए । म सानैदेखि नै हजुरआमाको काखमा हुर्किए ।
मलाई कहिलेपनि आमाबाबाको कमि महशुस हुनदिनुभएन । तर, समय सधैँ एकनासको कहाँ हुदोँरहेछ र । हजुरआमा बिरामीले विस्तारामा थला पर्नुभयो । त्यतीबेला हजुरआमाले भनेको शब्द सम्झिदाँ मुटु फुट्ला जस्तो भएर आँउछ । उहाँले आँखाभरि आँसु लिएर मेरो हात समाएर भन्नुभएको थियो “नानी राम्रोसँग पढेर ठूली मान्छे होइन असल र ज्ञानी मान्छे हुनु ।”
मेरो १२ कक्षाको परिक्षा नजिक आँउदै थियो । हजुरआमा बिरामी हुदाँ मेरो पढाइमा असर पुग्छ भनेर माइलो ठुलीमम्मीले मलाई पढनका लागि फूपूकोमा पठाउनुभयो । मलाई हजुरआमा को नजिक बस्न मन थियो, उहाँको आँखा नजिक हुन मन थियो । तर, मन नहुदाँ नहुदैँ पनि उहाँबाट टाढा जानुपर्ने बाध्यता थियो । फूपूकोमा गए पनि पढाईमा ध्यान दिन सकिरहेकी थिएन । जति बेला हजुरआमाकै याद आउने, मन आत्तिने गर्दथ्यो ।
बिरामी हजुरआमाको बोली विस्तारै सुक्दै गयो, मानसिक सन्तुलन गुम्दैँ गयो । आमा भनेर बोलाउदा हैँ भन्दै म तिर र्फकिनुहुन्थ्यो मलाई एकछिन हेरेर फेरी अर्कोतिर फर्केर आँखा चिम्लनुहुन्थयो । एकदिन बिहानै ठुलोबाबाले फोन गरेर नानी आमालाई गाह्रो भयो त आइज भन्नुभयो । भाई लिन आयो घरमा पुगेपछि आमाको अवस्था देख्दा ....,के भनु म केही भन्नै सकेन ।
हजुरआमाको अवस्था निकै नाजुक थियो । श्वास फेर्न गाह्रो भएको थियो । त्यसकारण हामीलाई छिटो छिटो खाना खान दिनुभयो । हजुरआमा आत्तालिएको देख्दा खाना कहाँ मिठो हुन्थ्यो र तै पनि हजुरआमालाई हेर्दै आँसुको ढिकासँगै भात खाइरहेको थिए । घरमा सबैजना जम्मा भएका थियौं, सबैका आँखामा आँसु थियो । त्यो रात मेरो लागि र परिवारको लागि कालो रात थियो । राम्रो र प्यारो मान्छे मात्रै किन रोज्छ भनेर भगवानसँग रिस उठेको थियो ।
२०७९ साल जेठ महिनाको १४ गते राति ८ः३० बजे हजुरआमा यो संसारबाट विदा हुनुभयो । आमा भन्दै चिच्याए आमा त कहाँ बोल्नुहुन्थ्यो र ! जताततै अधेरो भएको आभास भयो के भयो म आफैले पत्तो पाएन । मेरो परिक्षा पनि नजिकिदै थियो । परिक्षा दिए तर के दिए, कसरी दिए म आफैलाई थाहा थिएन । लामो समयको अन्तरालमा परिक्षको नतिजा पनि आयो । परिक्षामा म राम्रै अंक ल्याएर उत्र्तीण भएको थिए । हजुरआमाले छाडेर गएको पनि ६ महिना भइसक्यो । सुनेको थिए राति सुत्नेबेला जे कल्पना गर्यो त्यो सपनामा देखिन्छ भनेर । हजुरआमा हजुरको याद धेरै आँउछ तर पनि हजुरलाई सपनामा देख्दिन । हजुरको तस्विर अनि कपडाहरु हेरेर टोलाउने गर्छु । हजुर हामी माझ हुनुहुन्न भनेर अझै पनि विश्वास लाग्दैँन ।
हजुरआमाले मलाई कहिल्लै पनि आमाबाबाको कमि महशुस हुनदिनुभएन तर आज म एक्लो भएको छु । हजुरको त्यो माया, स्नेह खोजिरहेको छु । मेरो गल्तीमा कराउँदा झर्किने म अहिले हजुरको गाली सुन्न तर्सिएको छु । जन्मनु मर्नु प्रकृतिको खेल हो तर पनि यो मनलाई बुझाउन सकिरहेको छैन । हजुरले भनेको “नानी राम्रोसँग पढेर ठूली मान्छे होइन असल र ज्ञानी मान्छे हुनु” यो बोली पुरा गर्नका लागि संघर्ष गरिरहेको छु । हजुरको भौतिक शरीर हामी माझ नरेह पनि हजुरको आर्शिवाद र हजुरले दिएको संस्कार सधैँ हामी माझ रहनेछ । यदि मेरा आँसुले स्वर्गमा जाने सिँढी बन्थ्यो भने म स्वर्गमा गएर हजुरलाई फर्काएर ल्याउने थिए ।
हार्दिक श्रद्धानजली हजुरआमा !! हजुरको आत्मले बैकुण्डमा बास गरोस् ।
लेखक निरुता गिरी
तिलोत्तमा - २,शंकरनगर "बनबाटिका"
तपाईको प्रतिक्रिया