रुपन्देही-बुटवल, २०९७ पौष १५
‘सडकमै खाऔ, सडकमै रमाऔ, नाचौ, गाऔ’ भन्ने नारासहित अँग्रेजी नयाँ वर्ष जनवरी फर्स्टको अवसर पारी बुटवलको कालिका पथमा शुक्रबारदेखि ३ दिने ‘सडक खाना महोत्वस’ सञ्चालन हुने भएको छ । होटल व्यसायी संघ रुपन्देहीको आयोजनामा पुस १५, १६ र १७ गते कालिका पथमा फुड फेस्टिभल हुने भएको हो ।
पर्यटनको सम्भावनालाई पहिचान गरी लुम्बिनी प्रदेशमा धेरैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटकलाई समेत ल्याउने गरी कार्यक्रम गर्न लागेको संघका अध्यक्ष रामप्रसाद गौतमले बताउनुभयो । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले २०७५ सालमा पहिलोपटक र २०७६ सालमा दोस्रोपटक बुटवलमा सडक खाना महोत्सव आयोजना गरेको थियो । तर स्थलको अभाव र कोरोना महामारीका कारण विगत दुई वर्षदेखि बुटवलमा सडक खाना महोत्सव गर्न नसकेको गौतमले बताउनुभयो । पछिल्लो वर्ष संघले बुटवलकै हिलपार्कमा खाना महोत्सव गरेको थियो ।
बुटवलको नयाँ बसपार्कदेखि तीनकुनेसम्मको कालिकापथमा सडक खाना महोत्सव हुने र महोत्सवमा विभिन्न जातीय परिकार प्रदर्शनीमा राखिनेछ बताइको छ। तीन दिनसम्म सञ्चालन हुने फेस्टिभलमा एक लाख बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । करिब एक सय वटा स्टल फुड फेस्टिभलमा रहने छन् ।
संघका अध्यक्ष गौतमका अनुसार महोत्सवबारे आवश्यक तयारी पूरा भएको छ । हरेक वर्षहरुमा गर्दै आएको सडक खाना महोत्सवलाई यसपटक अझ ब्यवस्थित र उत्कृष्ट बनाउने योजनासहित अघि बढेको गौतमले जानकारी दिनुभयो । खानाका परिकार, संस्कृति, स्थानीय डिजे ब्याण्डदेखि राष्ट्रिय कलाकारहरुको प्रस्तुतिमा सँस्कृतिक कार्यक्रम समेत गरिने संघका महासचिव माधवकुमार खनालले बताउनुभयो । करिब २५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको महोत्सवमा १ करोडको कारोबार हुने खनालको दाबी छ । महोत्सवमा प्रवेश निःशुल्क ब्यवस्था गरिएको छ ।
तपाईको प्रतिक्रिया