पुष २६, नवलपरासी
नवलपरासीका प्रमुख जिल्ला अधिकारीले अकस्मात रुपमा गरिब बस्ती पुगेर न्यानो कपडा बाँडेपछि स्थानीयहरु दंग परेका छन् । मंगलबार बिहानै प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल कर्मचारी र सुरक्षाकर्मीसहितको टोली लिएर रामग्राम र पाल्हीनन्दन गाउँपालिकाका गरिब बस्तीमा पुगेका हुन् ।
नवलपरासीमा केही दिनदेखि बाक्लो हुस्सुसहितको शितलहरले जनजीवन प्रभावित बनेको छ । शितलहरले सबैभन्दा बढी विपन्न परिवार प्रभावित बनेका छन् । चिसो बढेपछि प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल सम्बन्धित पालिकाका जनप्रतिनिधि र स्थानीयलाई समेत जानकारी नदिई अकस्मात कम्मलसहितका न्यानो कपडा लिएर गाउँ पुगेपछि स्थानीय दंग परेका हुन् ।
गाउँ पुगेका सिडिओले आगो ताप्दै गरेका स्थानीयलाई अति गरिबको घर देखाई दिन भन्दै सँगै लिएर हिडेका थिए । न्यानो कपडा पाउने विपन्नको मापदण्ड तोकिएको थियो । खेतबारी नभएका अशक्त, जेष्ठ नागरिक, हेरचाहा गर्ने परिवारका सदस्य नभएका, झुपडीमा बसोबास गर्ने विपन्नलाई न्यानो कपडा वितरण गरिएको थियो ।
विगतका वर्षमा जनप्रतिनिधिहरुले राहत सामाग्री र न्यानो कपडा बाँड्दा धेरै जना असन्तुष्ट हुने गरेका थिए । आफ्ना मान्छे र सम्पन्न परिवारका जेष्ठ नागरिकलाई राहत दिएको भन्दै स्थानीयले जनप्रतिनिधिहरुको आलोचना गर्दै आएका थिए । अहिले भने वास्तविक गरिबले राहत पाएको भन्दै स्थानीयले प्रमुख जिल्ला अधिकारीको प्रशंसा गरेका छन् ।
विपन्नहरुलाई जिल्ला विपद् व्यवस्थापन समितिमा रहेका कम्मलसहितको न्यानो कपडा वितरण गरिएको हो । रामग्राम नगरपालिकाको वडा नं. १ र ७ तथा पाल्हीनन्दन गाउँपालिकाको वडा नं. ३ का गरी कुल ४१ जनालाई कम्मलसहितको न्यानो कपडा वितरण गरिएको छ ।
स्थानीय तहलाई पटक पटक विपन्नको तथ्यांक संकलन गर्न अनुरोध गरेपनि विवरण नबुझाएपछि प्रमुख जिल्ला अधिकारी आफैंले न्यानो कपडा वितरण गर्नुभएको हो । नाम संकलन गरेर वितरण गर्दा लक्षित वर्गभन्दा पनि अन्यले पाएको गुनासो बढेकाले बस्तीमै पुगेर मापदण्डअनुसार वितरण गरिएको हो ।
स्थानीय तहले विपन्न विवरण नदिएपछि जिल्ला विपद् व्यवस्थापन समितिले प्रहरीमार्फत विवरण संकलन गरेको छ । जसअनुसार जिल्लामा १२ सय ४९ विपन्न परिवार रहेका छन् । उनीहरुका लागि राहत प्रदान गर्न जिल्ला विपद् व्यवस्थापन समितिले १० लाखको कम्मल खरिद गर्न लागेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।
तपाईको प्रतिक्रिया