यति एयरको बिमान दुर्घटनामा तिलोत्तमाका एक चिकित्सकको पनि मृत्यु
बुटवल २०७९ माघ २
यति एयरलाईन्सको एटिआर ७२ बिमान दुर्घटना परी रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का डा. गणेश थापाको समेत निधन भएको छ । पोखराको बृटिस वेलफेयर अस्पतालमा कार्यरत थापा २ साताको बिदा सकिएपछि आईतबार काठमाण्डौंबाट पोखरा जाँदै थिए।
तिलोत्तमा नगरपालिका ४ डिंगरनगरमा रहेको आफ्नै घर अगाडीको सिद्धार्थ बोर्डिङ स्कुलमा एसएलसी सम्म र बुटवलकै ग्लोरियस कलेजबाट प्लस टु अध्ययन गरेका ३६ वर्षिय थापाले सरकारी छात्रवृत्तिमा चीनमा चिकित्सा शास्त्र अध्यायन गर्नुभएको थियो । प्लस टु अध्ययन पछि चीनको जिनिङ मेडिकल युनिभर्सिटीबाट एमबीबीएस अध्ययन गर्नुभएको थापाले अस्ट्रेलियाबाट एमपीएच अध्ययन गर्नुभएको थियो।
चीन र अष्ट्रेलियाबाट अध्ययन पुरा गरेपछि केहि वर्ष मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र वीरेन्द्र सैनिक अस्पतालमा काम गरेका थापा पछिल्ला केहि वर्ष यता ब्रिटिश वेलफेयर अस्पतालमा कार्यरत रहनुभएको थियो । पोखरास्थित ब्रिटिश वेलफेयर अस्पतालमा कार्यरत डा.थापाका चिकित्सक समेत रहेकी श्रीमती रोनी महर्जन र दुई वर्षिय छोरी काठमाण्डौंमा बस्दै आएका छन।
डा. थापाका बुवा पदम बहादुर बुचा र आमा सुर्य कुमारी बुचा डिंगरनगरमै बस्दै आउनुभएको छ थापा एकमात्र छोरा हुन । काठमाण्डौमा शव बुझेपछि दाहसंस्कारको लागि भने तिलोत्तमा ल्याउने तयारी रहेको आफन्तले बताएका छन्।
तपाईको प्रतिक्रिया