सैनामैनामा बस र बोलेरो ठोक्किँदा १ जनाको मृत्यु, ९ जना घाइते
०४ माघ, रुपन्देही
पवित्रा चौधरी
पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा बोलेरो र बस एकआपसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । बुधबार सैनामैना नगरपालिका २ स्थित झारबैरमा बुटवलतर्फ आउँदै गरेको लु १ ख ८७८५ नम्बरको बस र कपिलवस्तु तर्फ जाँदै गरेको लु १ ख ४३८४ नम्बरको बोलेरो एक आपसमा ठोक्किएको थियो ।
दुर्घटनामा रुपन्देहीको शुद्धोदन गाउँपालिका १ बस्ने ३५ वर्षका गोरक लोनियाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
घाइतेहरूलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । कार्यालयकाअनुसार घाइतेमध्ये चार जना शुद्धोदन गाउँपालिका १ का ४५ वर्षिय सिंहराज लोनिया, सोही स्थानकै २९ वर्षीय हिरालाल मुराउ, ३५ वर्षीय राजु चौहान, २५ वर्षीय दोलिपकुमार लोनियाको अवस्था गम्भिर रहेको छ ।
अन्य घाइते सोही स्थानकै ३४ वर्षीय मुरलीधर लोनिया, ३६ वर्षीय सुरेस लोनिया, ४५ वर्षीय विरेन्द्र लोनिया, २२ वर्षीय दिपु लोनिया र सैनामैना नगरपालिका ४ बस्ने २२ वर्षीय उर्मीला चौधरीको अवस्था मध्यम रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
तपाईको प्रतिक्रिया