पवित्रा चौधरी,तिलोत्तमा
२०७९ माघ ७,
रुपन्देहीमा रहेका फुटबल क्लबबीच हुने जिल्ला लिग छनोट प्रतियोगिता माघ १२ गतेका लागि सारिएको छ । रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा हुने छनोट प्रतियोगिता माघ ८ गतेदेखि हुने भनिए पनि माघ १२ गतेका लागि सारिएको संघका अध्यक्ष लोक पुनले जानकारी दिनुभयो । बुटवलमा बिहीबार पत्रकार सम्मेलन गरी माघ ८ गतेदेखि प्रतियोगिता गर्ने जानकारी दिए पनि हाल क्लबहरुको तयारी नपुगेकाले प्रतियोगिता १२ गतेका लागि सारिएको अध्यक्ष पुनले बताउनुभयो ।
हाल संघमा आबद्ध २० वटा क्लबमध्ये गत वर्ष रेलिगेसन परेको र कागजी प्रक्रिया पूरा नगरेका ६ वटा क्लब घटेर १४ मा झरेको उहाँले बताउनुभयो । अध्यक्ष पुनले जिल्लामा आबद्धताका लागि निवेदन दिएका नयाँ १२ वटा र रेलिगेसनसहितका ३ गरी १५ वटा क्लबका बिचमा छनोट खेल हुने बताउनुभयो ।
छनोट खेल नकआउट हुने र प्रतियोगितामा फाइनलमा पुग्ने दुई टिम जिल्ला लिगमा खेल्न पाउने लिगका संयोजक मुकेश कुँवरले बताउनुभयो । प्रत्येक टिममा बढीमा १८ जना खेलाडीहरू र २ जना अफिसियल राख्ने व्यवस्था भएको उहाँले बताउनुभयो ।
एन्फाको ए, बी, सी डिभिजन वा विदेशी क्लबहरूमा आबद्ध खेलाडीले खेल्न नपाउने पनि उहाँले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया