शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र बनवाटिकामा विविध संस्कृति महोत्सव सम्पन्न
रुपन्देही - तिलोत्तमा
२०७९ माघ ८
रुपन्देहीको तिलत्तोमा नगरपालिकामा रहेको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र बनवाटिकामा शनिवार विभिन्न जातजातिको संस्कृति झल्किने सांस्कृतिक झांकी सहित विविध संस्कृति महोत्सव सम्पन्न भएको छ।
थारु संस्कृति संरक्षण तथा अनुसन्धान केन्द्र थारु संग्राहलय, रुपन्देहीको आयोजनामा भएको सो महोत्सवमा गुरुङ्ग, नेवार, थारु, मगर, कुमाल, थकाली लगायत जातजातीको परमपरागत कला संस्कृति झल्किने सांस्कृति झांकीहरु प्रदर्शन गरिएको थियो।
संस्कृति महोत्सवको शुभारम्भ गर्दै नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष गिता सारु मगरले नेपाल बहुजातिय बहुभाषिक र बहुधार्मिक देश भएपनि एकल जातिय शासन प्रणालीले राज्यसत्ता भन्दा बाहिर रहेकाहरुको राज्यसम्मको पहुँचमा अंकुश लगाउदै आएको बिचार व्यक्त गर्नु भयो। महोत्सवका प्रमुख अतिथि समेत रहेका उपाध्यक्ष सारुले भाषा, कला साहित्य र संस्कृति लोप भएमा त्यो जाती र समुदायको अस्तित्व तथा पहिचान समेत हराउने उल्लेख गर्दै आफ्नो भाषा, कला साहित्य र संस्कृतिको संरक्षण र सम्बर्द्धनका लागि नयाँ पुस्तामा हस्तान्रण गर्नु आवस्यक रहेको बताउनु भयो।
संस्कृति महोत्सवका संयोजक रेखा प्रसाद चौधरीले विभिन्न जाती धर्म, संस्कृति, भाषा साहित्य तथा कलाको संरक्षण र प्रबर्द्धन गर्ने उद्देश्यका साथ महोत्सवको अयोजना गरिएको बताउनु भयो। देशमा रहेका बहुजातिय बहुभाषिक र बहुधर्म संस्कृतिको संरक्षण गर्ने राज्यको दायित्व भएपनि यहाँका आदीवासी जनजातीहरु प्रति राज्यले हेर्ने दृष्टिकोण सौतेलो व्यबहार भएको आरोप पनि चौधरीले लगाउनु भयो।
कार्यक्रमा पुर्व संबिधान सभा सदस्य विनोद पहाडीले राज्यको हरेक अंगहरुमा देशका उपेक्षित आदीवासी, जननजाती, दलित, मधेसी, थारु लगायत समुदायको पहुंच स्थापित गर्न भएको १० बर्षे माओवादी सशस्त्र जनयुद्धले दविएका समुदायहरुलाई जुर्मुराउन उत्साह दिएको उल्लेख गर्नु भयो। अझै पनि राज्यले उपेक्षित ती समुदायहरुको अधिकारलाई स्थापित गर्न भन्दा कुण्ठित गर्न खोजिरहेको समेत पुर्व संबिधान सभा सदस्य पहाडीले उल्लेख गर्नु भएको हो।
कार्यक्रममा पत्रकारिताको माध्यमबाट थारु भाषा, साहित्य कला र संस्कृतिको संरक्षण र सम्बर्द्धनमा योगदान गरे वापत रुपन्देहीका दुई पत्रकारहरु बुद्ध सामुदायिक टेलिभजिनका पत्रकार रविन्द्र गुप्ता र कञ्चन खवरका प्रबन्ध सम्पादक जगी लाल थापालाई सम्मान गरिएको थियो । थारु संस्कृति संरक्षण तथा अनुसन्धान केन्द्र थारु संग्राहलय, रुपन्देहीका अध्यक्ष अनिरुद्र प्रसाद चौधरीको अध्यक्षता तथा संस्थाका उपाध्यक्ष पल्टन प्रसाद चौधरीको स्वागतमा सचिव राज चौधरी र निलम चौधरीले कार्यक्रम संचालन गर्नु भएको थियो । महोत्सवमा सगरहवा, जमुहानी, बेवरा, बेलभरिया, मटेरिया, बगही, कृष्णनगनज , तुकतुइया लगायत स्थानहरुबाट मगर, नेवार,गुरुङ्ग, कुमाल, थारु, थकाली लगायत समुदायहरुले आ-आफ्नो सांस्कृतिक झांकी लिएर आएका थिए ।
तपाईको प्रतिक्रिया