00:00:00
स्थानिय

पाल्पालाई ढाकाको राजधानी घोषणा गरिए पनि उद्देश्य अनुसारको काम हुन सकेन 

बिहीबार माघ १२, २०७९/ Thursday 01-26-23

माघ १२, पाल्पा
    ढाका कपडालाई पहिचानकै रूपमा विकास गरी बिक्री वितरण र उत्पादन बढाउने उद्देश्यले पाल्पालाई ढाकाको राजधानी घोषणा गरिए पनि उद्देश्य अनुसारको काम हुन सकेको छैन । २०७८ चैत १२ गते तामझामका साथ पाल्पालाई ढाकाको राजधानी घोषणा गरिएको थियो । तर पाल्पाली ढाकाको प्रवद्र्धन गर्नसरकारी तवरबाट कुनै सहयोग नभएको व्यवसायीहरू बताउँछन् ।

ढाकाको राजधानी घोषणा गरिएको झण्डै २ वर्ष हुनै लाग्दा समेत यसको उत्पादन बढाउन सकिएको छैन । तानद्वारा उत्पादित ढाका कपडा ब्राण्डिङ गरी बजार पठाउन थालिएसँगै पाल्पाली ढाका सङ्घको पहलमा पाल्पालाई ढाकाको राजधानी घोषणा गरिएको हो । तर उनीहरूलाई कुनै पनि किसिमको प्रोत्साहन गर्न कुनै पनि तहको सरकारले काम नगरेको पाल्पामा ढाका उद्योग सञ्चानल गदै आउनु भएका कमल भन्डारीले बताउनुभयो ।

उद्यमीलाई प्रविधि, आधुनिक सिप, समय सुहाउँदो बजारिकरण र त्यसको समेत सिप अनि सहुलियत ऋण वा अनुदान उद्योगीको अपेक्षा थियो । तर योजना बिना नै पाल्पालाई राजधानी घोषणा गरिएको पाल्पामा ढाका कपडाको बिक्री गरिरहनुभएका राजेश कुमार भटराईले बताउनुभयो । तर सङ्घीय सांसद ठाकुर प्रसाद गैह्रे भने यसको उत्पादन बढाउन उद्योगीहरूलाई प्रोत्साहन गर्न योजना बनाएर काम गरिरहेको दाबी गर्नुहुन्छ ।

२०१५ सालबाट पाल्पामा ढाका कपडाको व्यवसाय सुरु भएको थियो । हाल पाल्पामा ३० भन्दा बढी ढाका उद्योग रहेका छन् । तर सरकारी सहयोग प्रभावकारी नहुँदा ति उद्योगले पर्याप्त उत्पादन गर्ने र पाल्पाली ढाकालाई थप विस्तार गर्ने काम भएको छैन ।

पाल्पामा पछिल्लो समय ढाकाबाट उत्पादित नेपाली पहिचान ढाका टोपीको छुट्टै महत्व छ । यस्तै पाल्पाली ढाकाको चोलो, सारी, रूमाल, पछ्यौरा जस्ता कपडा पनि चर्चित छन् ।
 

तपाईको प्रतिक्रिया