दाङ २०७९ माघ १३
दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमान कम्पनी सेवा सीता एयरले शुक्रबारं परीक्षण उडान गर्दै छ । दिउँसो १ बजे सीता एयरको १९ सिटे विमानले परीक्षण उडान भर्ने तुलसीपुर उपमहानगर पालिकाका उपप्रमुख स्यानी चौधरीले जनकारी दिनुभयो ।
निजी विमान उडान सुरु भएपछि भाडा पनि सस्तो हुने अपेक्षा रहेको चौधरीले बताउनुभयो । ठूलो सङ्घर्षपछि तुलसीपुरमा निजी विमानले सेवा दिन थालेको हो । उपप्रमुख चौधरीले अहिले धावनमार्गको डिपिआरको काम भइरहेको भन्दै त्यो सकेपछि तत्काल हालको धावनमार्गलाई विस्तार गरेर निजी कम्पनीका ठूला जहाज बसाल्ने योजना रहेको बताउनुभयो ।
चौधरीले जसरी पनि ७२ सिटे जहाज बसाल्ने गरी आफूले तयारी गरेको जनकारी दिनुभयो । तुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख स्यानी चौधरीको नेतृत्वमा समिति नै बनाएर विमानस्थल विस्तारका लागि पहलकदमी अगाडि बढाएको छ । सोहीअनुसार निजी विमान तुलसीपुरमा आउन लागेको हो ।
हाल नेपाल वायु सेवा निगमको १९ सिटे जहाज हप्तामा चार दिन तुलसीपुरमा उडान भर्ने गरेको छ । हाल टरिगाउँबाटै इन्धन डिपो स्थापना भई सञ्चालनमा आएको छ । तर भाडा भने घट्न सकेको छैन । हाल दाङबाट काठमाडौँको न्यूनतम रु आठ हजार आठ सय १० र काठमाडौँबाट दाङको भाडा न्यूनतम रु नौ हजार बढीदेखि अधिकतम १२ हजारभन्दा बढी रहेको छ।
तपाईको प्रतिक्रिया