माघ २८, तिलोत्तमा
विन्दु भट्टराई
नेपाल कम्युनिस्ट पार्टी एमालेको शाखा कमिटी तिलोत्तमा ५ को आयोजनामा २ दिने महिला नेतृत्व विकास तालिम शनिबारबाट शुरु भएको छ । तालिमको सहजिकरण गर्दै रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनका कार्यकारी प्रमुख मिनाक्षी न्यौपानेले सामाजिक रुपान्तरणका लागि ब्यक्तिमा भएको सोंच परिवर्तन गर्नुपर्ने बताउनुभयो । न्यौपानेले महिला सचेत र शिक्षित नभएसम्म समाजमा भएको विभेद अन्त्य हुन नसक्ने भन्दै अब हरेक महिलाले सोंच्ने बेला आएको बताउनुभयो ।
तालिमको सहजिकरण गर्दै पत्रकार इन्दिरा अर्यालले हरेक तह र क्षेत्रमा महिला नेतृत्वको विकास गर्न सके समाजमा लैंगिक विभेद न्युनिकरण हुने बताउनुभयो । कार्यक्रममा शिक्षक भगवती भट्टराईले सिकाई र अनुभवले आत्मबल बढाउने बताउदै सिकाईको अन्तिम बिन्दु नहुने बताउनुभयो ।
तिलोत्तमा वडा नं ५ का करिब ३० जना महिला सहभागीता रहेको कार्यक्रममा महिलाहरुका समस्या र भोगाईसंगै आफुले परिवारमा ल्याउन खोजेको परिवर्तनको बिषयमा अनुभव सुनाएका थिए । तालिम आइतवार सम्पन्न हुनेछ ।
तपाईको प्रतिक्रिया