रुपन्देही -बुटवल
२०७९ फागुन १५
मगर समुदायले आज देश विदेशमा नेपाल मगर संघ स्थापना दिवस अर्थात मगर दिवस मनाउंदै छन् । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्झनामा मगर समुदायले फागुन १५ लाई विशेष महत्वका साथ मनाउंदै आएका छन् ।
आजको दिनमा सार्वजनिक विदा दिन मगर संघले माग गर्दै आएको छ र आज स्थानिय बिदा पनि गरीएको छ । नेपालका प्रथम शहीद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न पनि संघले माग गर्दै आएको छ ।
नेपाल मगर संघ बुटवलकी अध्यक्ष बसन्ती साठीघरेले स्थापना दिवसको अवसरमा संघले फागुन आज बुटवलमा भेषभुषाको झाँकी सहित बृहत र्याली र परम्परागत सोरठी, कौडा, सालैजो, घाटु नाचसहित मूल समारोह गरिने बताउनुभयो ।
मूल समारोह हिलपार्क गेट पुर्वको बाजे बज्यै थान परिसरमा हुने संघका सचिव हेमन्त बुढाथोकीले बताउनुभयो । आदिवासी जनजातीमध्ये मगर पहिलो र समग्रमा तेस्रो ठूलो जनसंख्या भएको समुदाय हो ।
२०६८ को जनगणना अनुसार देशभर मगर समुदायको जनसंख्या १९ लाख रहेपनि मगर संघले ३० लाख मगर रहेको दावी गर्दै आएको छ । मगर संघ स्थापना दिवसको अवसरमा बुटवल उपमहानगर,तिलोत्तमा नगरपालिका लगायतका मगरहरुको बाक्लो उपस्थिति रहेका स्थानीय तहहरुले आज कतै शिक्षण संस्था त कतै स्थानीय तह मातहतका कार्यालयमा विदा दिएका छन् ।
तपाईको प्रतिक्रिया