00:00:00
राष्ट्रिय

राष्ट्रपतिका उम्मेदवारद्वय पौडेल र नेम्वाङ मत माग्न व्यस्त

आठ दलको प्रचार अभियान आजदेखि
बिहीबार फाल्गुण १८, २०७९/ Thursday 03-02-23

फागुन १८, काठमाण्डौ 
यही फागुन २५ गते हुने राष्ट्रपति पदका लागि गएको १३ गते मनोनयन दर्ता गर्नुभएको उम्मेदवारद्धय नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ आफ्नो पक्षमा मत माग्न व्यस्त हुनुभएको छ । पौडेल र नेम्वाङले संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूसँगको छलफल तीव्र पार्नुभएको हो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले कांग्रेसका नेता पौडेललाई समर्थन गरेका छन् । आठ राजनीतिक दलको प्रचारप्रसार अभियान आजदेखि सुरु हुँदैछ ।

नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी संघीय सांसदहरुको अभिमुखीकरण कार्यक्रम गर्दैछ । नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा आज दिउँसो एक बजे तीनकुनेको एक व्यांक्वेटमा हुने कार्यक्रममा राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यहरुलाई बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उनीहरुलाई आठ दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

साथै फागुन २३ गतेसम्ममा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा सदस्यलाई काठमाण्डौमा उपस्थित हुन आठ वटै राजनीतिक दलले निर्देशन दिएका छन् । त्यसैगरी भोलि प्रदेश सभा सदस्यको भेला गर्ने आठ दलको तयारी छ ।
 

तपाईको प्रतिक्रिया