00:00:00
राष्ट्रिय

‘परालको आगो’का निर्देशक प्रताप सुब्बाको निधन

शुक्रबार चैत ३, २०७९/ Friday 03-17-23

काठमाण्डौ - २०७९ चैत्र ३

    मौलिक नेपाली फिल्मका प्रणेता मानिने निर्देशक प्रताप सुब्बाको निधन भएको छ । दार्जिलिङमा बस्दै आएका सुब्बाको अस्पतालमा उपचारको क्रममा बिहीबार विहान ७५ वर्षको उमेरमा निधन भएको हो । सन् १९४७ मा दार्जिलिङमा जन्मिएका सुब्बाले ७ वटा फिचर फिल्म, ६ वटा वृतचित्र, ५ वटा भिडियो फिल्म, १३ वटा टेलिफिल्म र ५ वटा नाटकको निर्माण तथा निर्देशन गर्नुभएको थियो ।

दार्जिलिङबाट ‘परालको आगो’ बनाएका सुब्बाले ‘बाँच्ने चाहने’, ‘कहीँ अँध्यारो कहीँ उज्यालो’, ‘भीष्म प्रतिज्ञा’ जस्ता फिल्मको निर्देशन गर्नुभएको छ । ‘परालको आगो’ नेपालबाहिर बनेको पहिलो मौलिक फिल्म थियो । ४० को दशकमा नेपाल आएका सुब्बा केही फिल्म र टेलिफिल्म बनाएर ५० को दशकमा दार्जिलिङ फर्किनुभयो । त्यसपछि सुब्बाले फिल्म निर्माण तथा निर्देशन गर्नुभएको थियो।

अघिल्लो वर्ष नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौंथो संस्करणमा फिल्म निर्माण तथा निर्देशनको अनुभव साट्न नेपाल आउने क्रममा सुब्बाले  अहिले नेपाली फिल्महरुमा अस्वस्थ प्रतिस्पर्धा रहेको गुनासो व्यक्त गर्नुभएको थियो ।

निर्देशक प्रकाश सायमीका अनुसार, प्रताप सुब्बाले ‘परालको आगो’भन्दा अघि ‘सपना कतिपय’ फिल्मको काम सुरु गर्नुभएको थियो । तर, त्यो फिल्म बन्दा बन्दै रिल जलेर नष्ट भएपछि सुब्बाले गुरुप्रसाद मैनालीको कथामा ‘परालको आगो’ निर्देशन गर्नुभएको थियो  । वहाँ प्रताप सुब्बालाई नेपाली फिल्म क्षेत्रले पाएको विएस थापा र प्रकाश थापापछिको महत्त्वपूर्ण निर्देशक मान्छन् ।

तपाईको प्रतिक्रिया