२०८० बैशाख ०५
आज सम्म आमाको साथ छोडेर कतै न गएकी अमृताले एक्कासी शहर जाने निर्णय गरे पछि आमा झस्किनु भयो । आँखामा आँसु लिएर आमाले सोध्नु भयो । तैले यस्तो निर्णय किन गरिस् नानी? आमाको आँसु पुछ्दै अमृताले भनी, मलाई अगाडि अझै धेरै कुरा हेर्न छ । हजुरले र मैले देखेको सपनालाई पूरा गर्नु छ । नरुनुस आमा धेरै अधुरा सपनाहरु पुरा गर्नुछ त्यसैले पनि मलाई शहर जानु पर्छ आमा ।
बुढी आमालाई त्यस्तरी छोडेर जान मन त थिएन तर के गरोस् जिम्मेवारीले सानो र ठूलो उमेर भनेर देख्दो रहेनछ । झोलामा केही लुगा हातमा आमाले दिएको पैसा र आँखामा सपना लिएकी अमृता अब शहरतिर आउन लागेकी थिइ । शहरपनि आई तर उसको दिमागमा गाउँमा बसेकी बुढी आमा तिरै थियो । उसले आकाशमा उडिरहेको चरीलाई देखे पछि सोची, म पनि चरी भएको भए भर्खर उडेर आमाको छेउमा गएर बस्थे । तर के गरोस् उँ चरी न भए पनि उसको सपनाको पंख खुल्न बाँकी नै थियो।
शहर गएको केही समय पछि अमृता कलेज जान थाली । नयाँ ठाउँ, नयाँ साथीहरु एकदिन साथीहरुले मम्मी बाबाको कुरा गर्दै गर्दा तिम्रो मम्मी बाबा कहाँ हुनुन्छ भनेर अमृतालाई सोधे । अमृतासँग उत्तर थिएन । त्यो दिन घर फर्किएर आमालाई धेरै याद गरी । अहिले आमासंग मोबाइल भएको भए कुरा गर्न सक्थे । तर आफूले आफूलाई सम्झाउँदै भन्न थाली अब सहासी भएर जुन लक्ष्य लिएर आएकी छु त्यो लक्ष्य लाई पूरा गर्न पर्छ । समयसँगै अमृता शहरमा भिज्न थाली, शहरको रहन सहन बुझ्न थाली ।
अमृता अब १२ मा पुगेकी थिई एकदिन कलेज बाट फर्किए पछि उसले आमालाई घरमा देखि । आमालाई देखे पछि त निकै खुशी भई । आमा भन्दै उसले आमालाई गएर अंगालो हाली । त्यो अंगालो हाल्दा एकछिन उसले आफ्नो सबै समस्याहरु बिर्सिएको थिई । आमा शहर त आउनु भयो तर के कारणले आउनु भयो भन्ने कुराले अन्जान थिई । तर उसलाई कारण भन्दा पनि आमको साथ महत्व थियो । उसले एकदिन कलेज बाट फर्किएपछि आमाको हस्पिटलको कागजपत्र देखि हस्पिटलको कागजपत्र देखेर एकछिन झसँग भई । आमा त बिरामी भएर पो आउनु भएको रहेछ।
आमालाई कहिललै सञ्चो नहुने रोग लागेको पो रहेछ । अब आमा बिरामी भएको थाहा पाए पछि माया झन बढ्यो र एकछिन पनि आमा को साथ छोड्नै मन थिएन उसलाई । उसको लागि उसको हजुरआमा कति प्यारो हुनुहुन्छ भन्ने कुरा शब्दमा पनि बयान गर्न सक्दिनथि । अमृताको लागि आमाबाबा भगवान जे भनेपनि हजुरआमा हो । त्यसैले होला अरु नातिनातिनी भन्दा उ निकै प्यारो थिई । उसलाई कहिलेपनि आमाबाबाको कमि महशुस हुनदिनुभएन । तर, समय सधैँ एकनासको कहाँ हुदोँरहेछ र ।
हजुरआमा बिरामीले विस्तारामा थला पर्नुभयो । त्यतीबेला हजुरआमाले भनेको शब्द सम्झिदाँ अमृताको मुटु फुट्ला जस्तो भएर आँउथ्यो । उहाँले आँखाभरि आँसु लिएर उसको हात समाएर भन्नुभएको थियो “नानी राम्रोसँग पढेर ठूली मान्छे होइन असल र ज्ञानी मान्छे हुनु ।” अमृताको १२ कक्षाको परिक्षा नजिक आँउदै थियो । हजुरआमा बिरामी हुदाँ पढाइमा असर पुग्छ भनेर माइलो ठुलीमम्मीले पढनका लागि फूपूकोमा पठाउनुभयो । उसलाई हजुरआमा को नजिक बस्न मन थियो, उहाँको आँखा नजिक हुन मन थियो । तर, मन नहुदाँ नहुदैँ पनि उहाँबाट टाढा जानुपर्ने बाध्यता थियो । फूपूकोमा गए पनि पढाईमा ध्यान दिन सकिरहेकी थिइन । जति बेला हजुरआमाकै याद आउने, मन आत्तिने गर्दथ्यो ।
बिरामी हजुरआमाको बोली विस्तारै सुक्दै गयो, मानसिक सन्तुलन गुम्दैँ गयो । आमा भनेर बोलाउदा हैँ भन्दै उ तिर र्फकिनुहुन्थ्यो एकछिन हेरेर फेरी अर्कोतिर फर्केर आँखा चिम्लनुहुन्थयो । एकदिन बिहानै ठुलोबाबाले फोन गरेर नानी आमालाई गाह्रो भयो त आइज भन्नुभयो । भाई लिन आयो घरमा पुगेपछि आमाको अवस्था देख्दा ....,अमृता केहि बोल्न सकिनन । हजुरआमाको अवस्था निकै नाजुक थियो । श्वास फेर्न गाह्रो भएको थियो । त्यसकारण अमृतालाई ठुलीमम्मीले छिटो छिटो खाना खान दिनुभयो । हजुरआमा आत्तालिएको देख्दा खाना कहाँ मिठो हुन्थ्यो र तै पनि हजुरआमालाई हेर्दै आँसुको ढिकासँगै भात खाइरहेको थिई । घरमा सबैजना जम्मा भएका थिए, सबैका आँखामा आँसु थियो । त्यो रात उसको र परिवारको लागि कालो रात थियो ।
अमृतालाई राम्रो र प्यारो मान्छे मात्रै किन रोज्छ भनेर भगवानसँग रिस उठेको थियो । अमृतालाई बढी माया गर्ने आमाले पनि यो संसारबाट बिदा भईसक्नुभएको थियो । आमा भन्दै अमृता चिच्याई तर आमा त कहाँ बोल्नुहुन्थ्यो र ! जताततै अधेरो भएको आभास गरी के भयो उ आफैले पत्तो पाइन । अमृताको परिक्षा पनि नजिकिदै थियो । परिक्षको नतिजा पनि आयो । परिक्षामा राम्रै अंक ल्याएर अमृता उत्र्तीण भएको थिई । हजुरआमाले छाडेर गएको पनि धेरै समय भइसकेको थियो । भन्ने गर्छन राति सुत्नेबेला जे कल्पना गर्यो त्यो सपनामा देखिन्छ भनेर । हजुरआमाको याद धेरै आँउछ तर पनि सपनामा देख्दिन । आमाको तस्विर अनि कपडाहरु हेरेर टोलाउने गर्छे । उसलाई अझै पनि विश्वास लाग्दैँन कि हजुरआमा यो संसारमा हुनुहुन्न । एक्ली भएकी उसले हजुरआमाको त्यो माया, स्नेह खोजिरहेके छे । उसको गल्तीमा कराउँदा झर्किने उ अहिले आमाको गाली सुन्न तर्सिएकी छे । जन्मनु मर्नु प्रकृतिको खेल हो तर पनि त्यो मनलाई बुझाउन सकिरहेकी छैन ।
हजुरआमाले भनेको कुरा “नानी राम्रोसँग पढेर ठूली मान्छे होइन असल र ज्ञानी मान्छे हुनु” यो बोली पुरा गर्नका लागि संघर्ष गरिरहेको छे । यदि उसको आँसुले स्वर्गमा जाने बाटो बन्थ्यो भने उ स्वर्गमा गएर हजुरआमालाई फर्काएर ल्याउने थिई ।संघर्ष लाई अब नजिकैबाट देखेर भोग्दै आएकी थिई अमृताले । तर भन्छन् नि कठिन समय ले नै मानिस लाई बलियो बनाउँछ । अब आमा बितेको कुरा फर्किएर हेर्दैन अब अगाडि भविष्यलाई कसरी राम्रो बनाउने हो भन्ने सोच्दै अमृता ले अघि बढ्ने समयमा खुट्टा तान्ने मान्छे जति नी भेटिएका थिए जसले सानो छदाँ नमिठो वचन लगाउँथे आज उनैले अमृताको प्रशंसा गर्दा निकै गर्व महसुस गरछि । अनि अझै उनीहरूको अघि संघर्ष गर्न खोजी रहेकी छि ।
सानै देखि संघर्षलाई आफ्नो साथी बनाएकी अमृता अहिले भने आफ्नो जीवनको यात्रामा अघि बढ्दै गएर हाल टेलिभिजनमा समाचार पढ्छि भने रेडियोमा टेक्निसियनका साथसाथै कार्यक्रम पनि गर्ने गरछिन । सपना देखकोे देखि लिएर सपना पूरा हुँदै गएको यात्रामा धेरै ठक्कर खाना पर्यो तर हार न मानी अघि बढ्दै गई । आज यहाँ सम्म पुग्दा उसले आमालाई एकदम याद गर्छे, अनि सधैँ केहि काम गर्न भन्दा पहिले आमालाई समझिन छे र आकाशतिर फर्केर भन्छि, आमा हजुरले नै मलाई संसार देखाउनु भयो, म सँग न भए नी मेरो संघर्ष र सफलता देखेर मलाई आशिर्वाद दिनु है । आज मेरो र हजुरको सपना पूरा गरेकी छु ।
"१९ वर्षको उमेरमा उसले कति भोगी कति संघर्ष गरी यिनी शब्दमा थोरै छन्, उसको संघर्ष प्रति मेरो सलाम छ ।"
लेखक :- निरुता गिरी
बि एड प्रथम बर्ष
तपाईको प्रतिक्रिया