लुम्बिनी, बैशाख ९ ।
२५६७ औं बुद्धजयन्तीको अवसर पारेर बुद्धजन्मस्थलमा ‘लुम्बिनी सरसफाई अभियान’ २०८० शुरु गरिएको छ । शनिबार लुम्बिनी विकास कोषले शान्तिदीप, मायादेवी मन्दिरको बाहिरी क्षेत्र, मुख्य नहर क्षेत्र सहित ४ नम्बर र ५ नम्बर गेट वरपरको क्षेत्रमा सफाई गरेर अभियानको शुरुवात गरेको छ ।
‘ग्रिन लुम्बिनी क्लिन लुम्बिनी’ भन्ने नाराका साथ बुद्धजन्मस्थललाई सफा र स्वच्छ राख्ने उदेश्यले अभियान शुरु गरिएको कोषका सदस्य सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो । उहाँले अन्र्तराष्ट्रिय पर्यटकीय स्थललाई सफा राख्नका लागि कोषसँगै स्थानीयहरु समेत जागरुक हुनुपर्ने बताउनुभयो । कोषले नियमित रुपमा सफाई गर्दै आएपनि ४ नम्बरदेखि ५ नम्बर गेटसम्म फाहोर चुनौतीपूर्ण बनेको छ । यसअघि पटक–पटक होटल व्यवसायी र स्थानीयलाई फोहोर नफाल्न आग्रह गरिएपनि फोहोर थुप्रिन नछोडेपछि कोषले आफैले सरसफाई अभियान शुरु गर्दै लुम्बिनीलाई सफा राख्न सन्देश दिएको सदस्य सचिव शाक्यले बताउनुभयो ।
लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्यालले ५ नम्बर गेट अगाडि फोहोरका बिषयमा पटक पटक छलफल भएपनि यसको दीगो व्यवस्थापन हुन नसक्दा समस्या देखिएको उल्लेख गर्नुभयो ।
सरफाई अभियानमा सदस्य सचिव शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राई, लेखा अधिकृत भिमबहादुर बस्नेत, प्रशासन अधिकृत चुरामणि भट्टराईलगायतका कर्मचारीहरु, स्थानीय होटल व्यवसायी, आमा समूह, शसस्त्र प्रहरी र नेपाल प्रहरीको समेत सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया