00:00:00
स्थानिय

२५६७ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस

शुक्रबार बैशाख २२, २०८०/ Friday 05-05-23

प्रकाश पाण्डे
२०८० बैशाख २२

 आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६७  औं बुद्ध जयन्ती  विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतम बुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ । बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा लुम्बिनीमा विशेष समारोहको आयोजना गरिएको छ ।

  समारोहलाई अहिले  बिहान नौ बजेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचार प्रसार उपसमिति संयोजक ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिनुभएको छ । आज बिहान रेडियो लुम्बिनीको नियमित कार्यक्रम आजको सन्दर्भ  स्थम्भका लागि कुराकानी  गर्दै भट्टराईले, वैशाख २२ गते पाण्डितपुरदेखि रामग्राम अस्थिधातु यात्रा, भोलि बैशाख २३ गते बिहान ८ बजे लुम्बिनीबाट कपिलवस्तुसम्म बोधिसत्व सिद्धार्थको शोभा यात्रा, र बिहान ११ बजे कपिलवस्तु तिलौराकोटमा विशेष समारोहको आयोजना गरिएको जानकारी दिनुभयो ।

  बुद्ध जयन्ती एवं लुम्बिनी दिवश २०८० को अवसरमा आज प्रधानमन्त्री सहित विशिष्ट व्यक्तिहरु लुम्बिनी आउने भएपछि अहिले लुम्बिनी क्षेत्रको सुरक्षा सर्तकता पनि बढाइएको छ । बुद्धजयन्ती मूल समारोह शुरु हुनुअघि लुम्बिनीको ५ नं गेटदेखि अन्तर्राष्ट्रिय सभाहलसम्म झाँकी सहितको शोभायात्रा निकालिएको छ । शोभायात्रा सभाहलसम्म पुगिसकेको छ भने अब केहि समयपछि  प्रधानमन्त्री प्रचण्डको आतित्थ्यमा  मूल समारोह  शुरु गरिने  लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्यले जानकारी दिनुभयो ।

   गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ । इसापूर्व ६२३ वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा गौतमबुद्धको जन्म भएको थियो ।  पहिलो सन्तानको माइतीमा जन्म दिने तत्कालीन परम्परा अनुसार मायादेवी आफनो माइती देबदह जान लागेका बेला लुम्बिनी उद्यानमा गौतमबुद्धको जन्म भएको थियो ।

   राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएको  दुःख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्किनुभएको थियो । वैशाख शुक्ल पूर्णिमाकै दिन उहाँले बुद्धगयास्थित बोधिवृक्ष (पीपलको रुख) मुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो ।

      वैशाख शुक्ल पुर्णिमाकै दिन उहाँको महापरिनिर्वाण भएको थियो । सोहि दिनको सम्झनामा त्यही वर्षदेखि बुद्ध जयन्ती मनाउन थालिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन गर्नुभएको थियो ।  

   हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् । वि.संं. २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि  देशभर सार्वजनिक बिदा दिन थालिएको हो । वि.सं. २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । विश्वशान्तिका अग्रदूत भगवान गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ ।

तपाईको प्रतिक्रिया