पूर्व गृहमन्त्री बालकृष्ण खाँण र निजी सचिव केसी पक्राउ
बैशाख २७, काठमाडौं
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई पक्राउ गरेको छ । प्रहरीले अनुसन्धानको लागि भन्दै खाण र उहाँका निजी सचिव नरेन्द्र केसीलाई बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा यसअघि पक्राउ परेकाहरुले दिएको बयानका आधारमा नेता खाँण पक्राउ पर्नुभएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझी भने फरार छन् भने रायमाझीका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङसहित १० जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।
खाँणकी पत्नी मञ्जु खाँण र कांग्रेस नेतृ आरजु राणालाई रकम बुझाउनुपर्ने भन्दै सार्वजनिक भएको बिचौलियासँगको अडियो सम्वादको विषयमा भने अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया