00:00:00
स्थानिय

तिलोत्तमाका कृषकलाई अनुदानमा १ सय ३६ मेट्रिक टन गहुँको बिऊ 

शनिबार बैशाख ३०, २०८०/ Saturday 05-13-23

बैशाख ३०, तिलोत्तमा
पवित्रा चौधरी
   रुपन्देहीको तिलोत्तमा नगरपालिकाका कृषकलाई अनुदानमा १ सय ३६ मेट्रिक टन गहुँको बिउ वितरण गरिएको छ । चालु आर्थिक वर्ष वर्ष २०७९÷८० मा सञ्चालित कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत गत साउनदेखी बैशाख २९ गतेसम्मको तथ्यांकमा कृषकहरुलाई ४० प्रतिशत अनुदानमा खाद्यान्न बालीमा आत्मनिर्भरताका लागि उन्नत गहुँको बिउ वितरण गरिएको कृषि शाखा प्रमुख दोमलाल भूषालले बताउनुभयो । तिलोत्तमा नगरपालिकाको कूल क्षेत्रफल १२४.८ वर्ग किलोमिटर रहेको छ भने यो क्षेत्रमा उष्ण प्रदेशीय हावापानी पाईन्छ । उष्ण प्रदेशीय हावापानी पाईने यहाँको कुल क्षेत्रफलमध्ये ६६.९६ प्रतिशत जग्गामा कृषि उत्पादन हुन्छ । 

यहाँ संघीय सशर्त कार्यक्रमबाट आएको बजेटमा सञ्चालित तरकारी पकेट क्षेत्र, नगर प्रमुख किसान कार्यक्रमअन्तर्गत सञ्चालित तरकारी खेती र नयाँ तरकारी पकेट गरी वडा नं १४ को रगरगञ्जमा तीनवटा तरकारी पकेट क्षेत्र छन् । नगरपालिकाले तरकारी पकेट क्षेत्रका लागि काउली, बन्दा, ब्रोकाउली, खुर्सानी, गोलभेडा, भिन्डी, बोडी, लौका, तरभुज, करेला, भण्टा, फर्सी जस्ता तरकारीका बिउ किन्न उपभोक्तालाई प्राविधिक परामर्श दिइएको कृषि शाखा प्रमुख भुषालले बताउनुभयो ।

त्यस्तै तिलोत्तमाको वडा नं १७ ठटरीयामा धानबाली पकेट र वडा नं १७ कै कानपारामा धानबाली प्रवद्र्धन कार्यक्रम सञ्चालनमा छ । यस वर्ष धानको बिउ बितरणमा कार्यक्रम नभएकाले नेपाल सरकारले सिफारिस गरेको जातअनुसार धानको बिउ लगाउन किसानलाई सल्लाह र सिफारिस दिइएको कृषि शाखाले जनाएको छ । 

तिलोत्तमाका अन्य वडामा पकेट क्षेत्र नभए पनि समग्र कृषकलाई सेवा दिने उद्देश्यले प्राविधिक तथा आर्थिक सहयोगका लागि नमूना कृषक प्रवद्र्धन कार्यक्रम सञ्चालनमा छ । जुन कार्यक्रममार्फत यस आर्थिक वर्षमा मौरी व्यवसायी एक जना, च्याउ खेती गर्ने चार जना, नगदे बाली लगाउने कृषक एक जना र तरकारी खेती गर्ने १९ जना गरी जम्मा २५ जना कृषकलाई ८० प्रतिशत अनुदानमा प्रत्येक कृषकहरुलाई २० हजारका दरले अनुदान रकम दिइएको कृषि शाखा प्रमुख भुषालले बताउनुभयो ।  त्यस्तै पुष्प खेती कार्यक्रमअन्तर्गत ५ कट्ठा जग्गामा फूल खेती गर्ने ६ जना कृषकले प्रति व्यवसायी २० हजारका दरले अनुदान रकम पाएका छन् । 

तिलोत्तमामा मकैका लागि पकेट कार्यक्रम छुट्याइएको छैन तर हाइब्रेड जातको मकै लगाउने कृषकलाई ५० प्रतिशत अनुदान दिने गरेको कृषि शाखाले जनाएको छ । जसअनुसार दश कट्ठा जगामा मकै खेती गरेका कृषकले ५० प्रतिशत अनुदानका दरले रु ५ हजार रुपैया अनुदान पाउने कृषि शाखा प्रमुख भुषालको भनाइ छ । 

यस आर्थिक वर्षमा मात्रै १४ जनाले बिउ खरिदका लागि प्रस्ताव पेश गरेकामा कतिपयले भुक्तानी लगिसकेका छन् भने कतिपयको भुक्तानी बाँकी रहेको उहाँ बताउनुहुन्छ । तिलोत्तमामा मौरी पालन गरेका व्यवसायीलाई लक्षित गरी साना कृषि औजार वितरण कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा नगरपालिकाका १७ वटै वडाका ३६ जना व्यवसायीहरुलाई हाते ट्याक्टर ८ वटा, ब्रस कटर ५ वटा, बिसादी छर्ने स्प्रेयर १६ वटा र मह मदानी ७ वटा वितरण गरिएको पनि उहाँले बताउनुभयो । नगरपालिकाले बिउ बिक्री अनुमती प्रमाणपत्रका लागि यस आर्थिक वर्षमा ४० जनालाई तालिम, व्यवसायीक फूल खेती गर्ने २२ जना कृषकलाई तालिम, वडास्तरीय कृषि समिति सञ्जाल र नगरस्तरीय कृषि समिति सञ्जालको संस्थागत विकास तथा क्षमता अभिवृद्धि एंव परिचालनका लागि अभिमुखिकरण तालिम र बाली कटानी रेकर्ड अद्यावधिकजस्ता कार्यक्रमहरु भएका छन् । 

कृषि ज्ञान केन्द्र र राष्ट्रिय गहुँ बाली अनुसन्धान कार्यक्रमको समन्वयमा बाली उपचार शिविर पनि यसै आर्थिक वर्षमा सञ्चालन गरिएको छ । शिविरबाट कृषकलाई बालीनालीमा लाग्ने किराको उपचारका लागि प्राविधिक परामर्श र बिषादी प्रगोगको तरिकाबारे सहयोग पुर्याएको कृषि शाखाले जनाएको छ । 

कृषि कर्म गर्ने तिलोत्तमाका नागरिकलाई बिउबिजन खरिदका लागि मात्र  होइन सिँचाइ मर्मत तथा निर्माण आयोजनामा पनि अनुदान दिँदै आएको कृषि शाखाले जनाएको छ । यस आर्थिक वर्षमा प्रति आयोजना रु ५० हजारका दरले १७ जना उपभोक्ताले अनुदान लिएका छन् । कृषकलाई प्राविधिक र आर्थिक सहयोग पुगोस् भन्ने उद्देश्यले ल्याइएका यस्ता अनुदानबाट कृषकले भरपुर फाइदा लिन सक्ने कृषि शाखा प्रमुख भूषालको भनाइ छ । 

तपाईको प्रतिक्रिया