00:00:00
राष्ट्रिय

लामो दुरीको गाडी भाडा घटे पनि छोटो दुरीको भाडा घटेन

बिहीबार जेठ ४, २०८०/ Thursday 05-18-23

जेठ ४, काठमाडौं
    डिजेलको मूल्य लिटरमा १० रुपैयाँ घटेसँगै सरकारले लामो दुरीको गाडी भाडा घटाए पनि छोटो दुरीको भाडा घटाएको छैन । इन्धनको मूल्य घटबढ भएसँगै भाडा दर पनि तय गर्ने भनिए पनि इन्धनको मूल्य बढ्दा बढिहाल्ने भाडा घट्दा भने घट्ने गरेको छैन ।

देशभर दैनिक गुड्ने ४९ लाख सवारीसाधनमध्ये ३ प्रतिशत भाडाका गाडी छन् । ती गाडीको भाडा सरकारले निर्धारण गर्छ । यसरी भाडादर निर्धारण गर्दा इन्धनको मूल्यलाई ३५ प्रतिशत र बाँकी ६५ प्रतिशत, गाडीको मूल्य, ल्युब्रिकेन्टको मूल्य, ब्याजदरलगायतलाई आधार मान्ने गरिन्छ । डिजेलको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले यात्रुवाहक गाडीको भाडा ३ दशमलव २० तथा मालबाहक गाडीको पहाडमा ४ दमशलव १९ र तराइमा ४ दशमलव ६५ प्रतिशत भाडा घटाएको छ । तर यो भाडा दर लामो दुरीमा मात्र लागु भएको छ ।

प्रदेशभित्रको भाडादर विभागले घटाएर नहुने र यसका लागि सातै प्रदेश सरकारले भाडा समायोजनको छुट्टै निर्णय गर्नुपर्ने विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । प्रदेश सरकार भने यातायात व्यवसायीकै पक्षमा देखिएका छन् । गण्डकी प्रदेश सरकारले तत्काल भाडा नघटाउने निर्णय गरेको छ भने बागमती प्रदेश सरकारले छलफल गरेर निर्णय गर्ने जनाएको छ ।

स्वचालित भाडादर भनिए पछि इन्धनको मूल्यमा हुने घटबढका आधारमा भाडादर पनि स्वतः घटबढ हुनुपर्ने हो । तर, थरिथरिका व्याख्या गर्दै बढाइएको भाडा नघटाउने चलन वर्षौँदेखि चलिरहेको छ । 

तपाईको प्रतिक्रिया