00:00:00
स्थानिय

तिलोत्तमाका १ सय ४९ विद्यार्थीलाई नगरप्रमुख छात्रवृत्ति

शनिबार भदौ ३०, २०८०/ Saturday 09-16-23

तिलोत्तमा- २०८० भाद्र ३०

              रुपन्देहीको तिलोत्तमा नगरपालिका रामकृष्ण खाणले आफ्नो सेवा–सुविधा बापतको रकमबाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् । नगरप्रमुख खाणले यसअघि नैं घोषणा गरेअनुसार चालु शैक्षिक सत्रको लागि ४२ सामुदायिक विद्यालयका १४९ जना विद्यार्थीलाई शुक्रबार छात्रवृत्ति प्रदान गरिएको हो ।

  नगरप्रमुख खाणले आफ्नो कार्यकालको सम्पूर्ण पारिश्रमिक छात्रवृत्तिमा लगाउने घोषणा गरेसँगै हरेकवर्ष सबै सामुदायिक विद्यालयका कक्षा १ देखि १२ सम्म छात्रवृत्तिको लागि छनौट विद्यार्थीलाई जनहीँ ५ हजार रुपैंयाँ छात्रवृत्ति रकम प्रदान गरिएको हो । नगरपालिकाले छात्रवृत्ति वितरणलाई व्यवस्थित बनाउन कार्यविधि बनाई छनौट तथा व्यवस्थापन समिति गठन गरेको छ ।

      सम्बन्धित विद्यालय व्यवस्थापन समितिको निर्णय र वडा कार्यालयको सिफारिसको आधारमा जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्दै आएका छन्। छात्रवृत्तिलाई दिगो बनाउन कार्यविधिअनुसार कोषको समेत व्यवस्था मिलाइएको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्ष छात्रवृत्तिमा ७ लाख ४५ हजार खर्च भएको छ। प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालको स्वागतमा शुरु सो कार्यक्रममा कक्षा ८, एस ई ई तथा १२ कक्षमा उत्कृस्ट अंक ल्याउने बिद्यार्थी र बिद्यालयलाई समेत सम्मान गरिएको थियो।

       छात्रवृत्ति वितरण कार्यक्रममा नगर प्रमुख खाणले सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्न आफूलाई प्राप्त हुने पारिश्रमिक रकमबाट नगरका सबै सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्तिको रुपमा उपलब्ध गराएको बताउनुभयो । कार्यक्रममा उप–प्रमुख जगेश्वरदेवी चौधरी, नेपाली काँग्रेसका नगर सभापति हरिलाल पाण्डे, नेकपा एमालेका मिन प्रसाद पोख्रेल, रास्वपाका नगर अध्यक्ष, जनमुक्ती का नगर अध्यक्ष, प्रधानाध्यापक टंक पौडेल, विद्यार्थी ईभाञ्जिला श्रीलगायतले पारिश्रमिकको रकम छात्रवृत्तिमा लगाउनु भएकोमा नगरप्रमुख खाणको प्रशंसा गरेका थिए ।

तपाईको प्रतिक्रिया