00:00:00
स्थानिय

तीजको दर खाँदा सावधानी अपनाउन स्वास्थ्यकर्मी रामप्रसाद ढकालको आग्रह

आइतबार भदौ ३१, २०८०/ Sunday 09-17-23

प्रकाश पाण्डे,तिलोत्तमा
२०८० भदौ ३१  

आज तीजको पहिलो अर्थात दर खाने दिन । दरखाने दिनसँगै आजबाट तीज पर्व शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ । भोलि व्रत बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि अडिलो परिकार खाने चलन छ । 

    दर खाँदा आफ्नो स्वास्थ्यको ख्याल गर्न विज्ञहरुले सुझाव दिएका छन् । धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार, दरका रुपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकाले  त्यस्ता खानेकुरा सकेसम्म नखान स्वास्थ्यकर्मी एवं तिलोत्तमा ५ मणिग्रामस्थित निता पोलीक्लिनिकका संचालक रामप्रसाद ढकालको सुझाव छ ।

      आज बिहान रेडियो लुम्बिनीको नियमित कार्यक्रम आजको सन्दर्भ स्तम्भका लागी कुराकानी गर्दै ढकालले दर खाँदा आफ्नो शरीरमा चाहिने मात्र खान, दरमा विभिन्न परिकारसँगै सलादको मात्रा अनिवार्य गर्न एंव दरसँगै जाँडरक्सी नखान उहाँले आग्रह गर्नुभएको छ । तिजमा खाइने दरमा खिर, तरकारी, मिठाइ लगायत सधैँ खाइने परिकारभन्दा चिल्ला, पिरा, गुलिया र मसलेदार खानेकुरा धेरै समावेश गरिने हुनाले त्यसले अपच तथा ग्यास्ट्रिकको समस्या हुन सक्ने उहाँले बताउनुभयो ।

    अझ मधुमेहका बिरामीले यस्ता खानेकुरा खाँदा झनै सावधानी अपनाउनुपर्ने ढकालको सुझाब छ । पहिले मानिसहरुले धेरै परिश्रम गर्ने भएकाले चिल्लो, गुलियो धेरै खाँदा पनि त्यति स्वास्थ्य समस्या नहुने भए पनि  अहिले मानिसहरुले शारीरिक परिश्रम कम गर्दा र त्यस्ता खानेकुरा खाँदा स्वास्थ्यमा समस्या निम्तने गरेको उहाँको भनाइ छ । भोलिपल्ट बसिने व्रतका लागि अघिल्लो दिन आडिलो खानेकुरा खाने निहुँमा त्यसले थप जटिलता नल्याओस् भन्नेमा सतर्कता अपनाउनुपर्ने ढकालको भनाइ छ ।

तपाईको प्रतिक्रिया